पोखरा, २६ फागुन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले सीके राउतसँग गरेको सम्झौताबारे जनतासमक्ष प्रष्ट्याउनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति, प्रदेश एवम् केन्द्रीय परिषदको सम्मानार्थ काङ्ग्रेस कास्कीद्वारा आज आयोजित कार्यक्रममा उनले सम्झौताको भाषा प्रष्ट नभएको बताएका हुन् ।
प्रधानमन्त्रीकै उपस्थितिमा सीके राउतले सरकारले जनमत सङ्ग्रह स्वीकारेको भनेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले राष्ट्रिय अखण्डता, अविभाज्यताजस्ता विषय भाषण गरेर मात्रै नहुने उल्लेख गरे ।
पार्टीभित्रको एकता भावना र व्यवहारमा हुनुपर्नेमा जोड दिँदै पौडेलले भने, “हामी एक भयौँ भन्दैमा एकता हुने होइन, तातोपानीमा पौडी खेलेर एकता हुन्छ ?” तातोपानीमा सँगसँगै डुब्यो भन्दैमा एकता भयो भनेर प्रचार गर्नु नपर्ने बताउँदै उनले मुद्दा, विषयवस्तुमा एकता हुनुपर्नेमा जोड दिए ।
वरिष्ठ नेता पौडेल र सभापति शेरबहादुर देउवाले शनिबार म्याग्दीस्थित तातोपानी कुण्डमा सँगै नुहाएका थिए ।
राजनीतिमा स्थायी शत्रु र मित्रु नहुने भन्दै उनले स्थायी स्वार्थ रहिरहेसम्म एकता कायम हुन नसक्ने धारणा राखेका थिए । पार्टीको समग्र सुधारका लागि आफूले कार्यतालिकासहित प्रस्ताव पेश गरेको बताउँदै पौडेलले त्यसअनुरुप महाधिवेशनको तयारी गर्न आग्रह गरेका छन् ।
काङ्ग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले छ महिनामा १८ प्रतिशत मात्र विकास खर्च हुन सकेको बताउँदै स्वतन्त्र न्यायपालिका, स्वतन्त्र प्रेस आदिमाथि हस्तक्षेप हुने गरेको आरोप लगाएका छन् । केन्द्रीय सदस्य गुरुराज घिमिरेले इतिहास र कथाको चर्चाले मात्र पार्टीलाई अघि बढाउन नसकिने बताउँदै केन्द्रदेखि वडास्तरसम्म पार्टी सङ्गठनलाई मजबुत बनाउने गरी अघि बढ्नुपर्ने बताए ।
काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रेस युनियनका नव निर्वाचित कार्यसमिति, प्रदेश एवम् केन्द्रीय पार्षद्लाई वरिष्ठ नेता पौडेलले खादा लगाएर सम्मान गरेका थिए ।



लाेकपाटी न्यूज

