अपराधीप्रति कठोर बन्नुस्, जनताको साथी बन्नुस् : महानिरीक्षक खनाल

khanal sarbendra
लाेकपाटी न्यूज

रुपन्देही, २५ फागुन। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुले पीडितलाई न्याय दिने, आमनागरिकको मन जित्ने र नागरिकमैत्री व्यवहार प्रस्तुत गरी उच्च मनोबलकासाथ काम गर्नुपर्ने बताएका छन्।

इलाका प्रहरी कार्यालय रन्यौरा (मुर्गिया) रुपन्देहीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई शनिबार निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन्। महानिरीक्षक खनालले अपराध अनुसन्धान तथा नियन्त्रणको क्रममा आइपर्ने चुनौतिसँग जुध्दै अपराधीसँग कठोर रुपमा प्रस्तुत हुनुपर्ने तर अनुसन्धानको क्रममा कार्यालयमा ल्याइएका व्यक्तिहरुप्रति सदैव असल र सम्मानजनक व्यवहार गर्नुपर्ने बताए।

भ्रष्टाचारमा शुन्य सहनशीलताको नीतिलाई अक्षरस पालना गर्नुको साथै कानूनसम्मत तरिकाले मात्र काम गर्न उनले निर्देशन दिए। समुदाय–प्रहरी साझेदारी कार्यक्रम र यसबारे भईरहेको क्रियाकलापबारे चासो राख्दै प्रहरी महानिरीक्षक खनालले कार्यक्रम अन्तर्गत स्थानीय तह र समुदायसँग समन्वय गरी सक्रियताकासाथ काम गर्नुपर्नेमा जोड दिए।

दैनिक कामकाजसँगै कार्यालय, कार्यालय परिसर तथा व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै व्यवसायिक काम गर्ने क्रममा आवश्यक साधनस्रोत र सुविधा उपलब्ध गराउन आफू सदैव तल्लीन रहेको उनले बताए। सो अवसरमा प्रहरी महानिरीक्षक खनालले उक्त कार्यालय तथा कार्यालय परिसरको निरीक्षण समेत गरे।

निरीक्षणको क्रममा ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारी लगायतका प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्