अपराधिक गतिविधि समाप्त हुन्छन् : गृहमन्त्री थापा

Ram-bdr-thapa-badal
लाेकपाटी न्यूज

सुर्खेत, २५ फागुन। गृहमन्त्री रामबहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यमा शनिबार आयोजित कार्यक्रमबीच नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप सुर्खेतको वीरेन्द्रनगरमा बिहीबारदेखि सुरु भएको कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।

उक्त अवसरमा गृहमन्त्री थापाले गोष्ठीलाई सम्बोधन गर्दै मुलुकमा शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा विभिन्न किसिमका काम सक्रिय रुपमा भइरहेको बताए। सबै प्रकारका आपराधिक गतिविधिलाई निस्तेज पार्न सुरक्षा निकायहरुको सक्रियता अझै बढाउनुपर्नेमा जोड दिँदै गृहमन्त्री थापाले कामको सिलसिलामा आइपर्ने सबै समस्या र चुनौतिलाई सम्बोधन गर्ने गरी कानून निर्माणको क्रममा रहेको उल्लेख गरे।

समारोहमा गृहसचिव प्रेमकुमार राईले सबै सुरक्षा निकायहरुले आपसी समन्वय गरी सफलतापूर्वक काम गर्नुपर्ने उल्लेख गर्दै कानुन विपरितका गतिविधि नियन्त्रण गर्न गोष्ठीको निष्कर्ष फलदायी हुने विचार व्यक्त गरे।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेशको शान्ति सुरक्षा सम्बन्धी मन्तव्य व्यक्त गर्दै प्रविधि र अपराध नियन्त्रण लगायत शान्ति सुरक्षा कायम गर्ने काममा प्रदेशले प्रहरीलाई आवश्यक सहयोग गर्ने बताए।

गोष्ठीमा उक्त प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो।

गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, गृह मन्त्रालयका अधिकारीहरु, नेपाली सेनाका प्रतिनिधिहरु, कर्णाली प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, उक्त प्रदेश अन्तर्गतका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्