‘नेकपा सुनिएर माेटाएकाे हाेइन’ : प्रधानमन्त्री

kp sharma oli
लाेकपाटी न्यूज

रौतहट, २५ फागुन । रौतहटको गरुडामा आयोजित नेकपाको आमसभालाई सम्बोधन गर्ने प्रधानमन्त्री केमी शर्मा ओलीले नेकपा सुनिएर नमोटाएको बताउँदै स्थानीयदेखि संघीय सरकारसम्म नेकपाको नेतृत्व भएकाले अबको राजनीति विकासको राजनीति हुने बताएका छन् ।

उनले तराई मधेशमा पृथकतावादी अभियान चलाउँदै आएको व्यक्तिले समेत संविधान मानेर राज्यको मूल धारमा आएर राष्ट्रको अखण्डताको रक्षा गर्नका लागि तयार भएकाले तराईमा विकास नहुनेमा शंका नगर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले जनताको भोटलाई उच्च कदर गर्दै देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने बताए । उनले भने, ‘यो सरकारले जनताको भोटलाई ख्यालख्यालको रूपमा लिँदैन । भ्रष्टारचार हुन नदिने र सुशासन कायम गर्ने यो सरकारको काम हो ।’ वर्तमान सरकार कसैप्रति आग्रह र पूर्वाग्रह नराख्ने जनताको प्रतिनिधि भएकाले जनताको आकांक्षा पूरा गर्नमा कुनै कसर नछोड्ने उनले बताए ।

उनले नेपालमा सम्प्रदाय, जातजाति र भूगोलको राजनीति गर्ने समय सकिएको भन्दै साझा समस्याको रूपमा रहेको गरिबीको अन्त्य गर्दै विकासको बाटोमा हिँड्ने दिन आएको बताए । प्रधानमन्त्री ओलीले दुई पार्टी बीचको एकता सुनिएर मोटाउनका लागि नभई देशमा नमुना विकास गरेर देखाउनका लागि भएको बताए ।

उनले भने, ‘केन्द्रमा मिलि सक्यौँ । अब तल्ला तहमा एकता हुँदैन भन्ने नसोचे हुन्छ ।’ उनले राष्ट्रिय जनता पार्टी नेपाललगायत मधेसी दललाई इंगित गर्दै झुक्याएर केही मत बढी ल्याउँदैमा फूर्तीफार्ती नदेखाउन आग्रह गरे । अर्को पटक प्रदेश २ मा नेकपा सबैभन्दा ठूलो दल बन्नेमा दुई मत नरहेको उनको भनाइ थियो ।

त्यस्तै, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा २००६ देखि २०७३ सम्म तराई मधेसका जनताको भूमिका महत्वपूर्ण रहेको बताए । परिवर्तनमा यहाँका जनताले खेलेको भूमिकालाई पहाड र हिमालका जनताले प्रशंसा मात्रै नगरेर ऊर्जाका रूपमा ग्रहण गरेको बताए ।

उनले प्रदेश २ मा अहिले नै सरकार बनाउन सक्ने तर अस्थिरता ल्याउन नचाहेकाले त्यसो नगरेको समेत बताए । उनले भने, ‘प्रदेश २ मा हामी सरकार बनाउन सक्छौँ । तर, अहिले नै हामीले अस्थिरिता ल्याउन चाहदैनौं । यसलाई मधेशवादी दलले काम गर्न अवसर दिएको सोच्नु पर्दछ ।’

उनले जनतालाई भ्रममा पारेर अल्ली बढी मत ल्याउँदैमा नेकपालाई सिद्धायौँ भनेर नफुर्किन आग्रह गरे । उनले आगामी निर्वाचनमा ८० प्रतिशत भोट ल्याएर नेकपा विजयी बन्ने दाबीसमेत गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्