पाल्पा, २५ फागुन । खानेपानी मन्त्री बिना मगरले सरकारले केही गरेन भन्ने कुप्रचारको पछि नलाग्न आग्रह गरेकी छन् । उनले सबै नेपाली जनतालाई आधारभूत खानेपानीको सुविधा र पहुँच पुर्याउनु सरकारको प्रमुख दायित्व रहेकोे समेत बताएकी छन् ।
पाल्पाको माथागढीमा अवस्थित फूलबारी एक्लेवर खानेपानी आयोजनाको शनिबार उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले सबै जनताका लागि खानेपानीको पहुँच पुर्याउनु सरकारको प्रमुख दायित्व रहेको बताएकी हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘हामीले खानेपानीको समस्या भोगिरहेका हरेक गाउँ बस्ती, टोल र शहर बजारमा खानेपानीको सहज आपूर्ति व्यवस्था मिलाउन नयाँ आयोजना सञ्चालन गर्ने तयारीमा छौं । शुद्ध खानेपानीको उपभोग गर्न पाउनु हरेक नागरिकको मौलिक अधिकार हो । यस कुरामा सरकार गम्भीर छ ।’
उनले खानेपानी लगायत अन्य पूर्वाधारका योजनाहरु अघि बढाउन सरकार गम्भीर भएर लागिरहेको बताएकी छन् । । उनले भनिन्, ‘समृद्ध नेपाल र सुखी नेपालीको मर्म यो सरकारले बाहेक अरु कसैले बुझ्न सकेको छैन । चुनौती थुप्रै छन् । तर, पनि सरकारले काम अघि बढाइरहेको छ । कामै भएन भनेर सरकार विरुद्ध गरिएको दुष्प्रचारले कसैलाई फाइदा गर्दैन ।’
ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फन्ड बोर्ड)का कार्यकारी निर्देशक लीला प्रसाद ढकालले खानेपानीका नयाँ योजना तर्जुमाका लागि बोर्ड लागिरहेको बताए ।
खानेपानी मन्त्रालय अन्तर्गतको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक र सामाजिक स्रोत विकास केन्द्र तानसेन पाल्पाको प्राविधिक सहयोगमा फूलबारी एक्लेवर खानेपानी आयोजना सञ्चालनमा आएको हो । यो आयोजनाको कूल लागत ७२ लाख ७१ हजार रहेको छ भने यस आयोजनाबाट ५०८ घर धुरीहरु लाभान्वित हुनेछन् । माथागढी गाउँपालिका वडा नम्बर ३ मा पर्ने ९ वटा टोलहरु यस आयोजनाको उपभोक्तामा पर्दछन् । यो खानेपानी आयोजनाको काम २०७४ असार १५ गतेबाट सुरु भएको हो ।



लाेकपाटी न्यूज

