सिके राउतले बिखण्डनकाे मुद्दा छोडेका छैनन् : भीम रावल

Bhim-Rawal-2
लाेकपाटी न्यूज

काठमाडौं, २५ फागुन। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं पूर्व गृहमन्त्री भीम बहादुर रावलले सरकार र सिके राउतबीच भएको सहमति कुनैपनि हालतमा मान्य नहुने स्पष्ट पारेका छन्। उनले उक्त सहमतिले कतै राष्ट्र टुक्र्याउने कुरालाई वैद्यता त प्रदान गर्दैन ? भन्दै प्रश्न समेत तेर्साए।

सरकार र सिके राउतबीच ११ बुँदे सहमति भएको भोलिपल्ट शनिबार रिपोर्टर्स क्लबमा बोल्दै नेता रावलले भने, ‘देशलाई शान्तिको बाटोमा लैजान र समृद्धिको बाटोमा अघि बढाउनको लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्छ, यसमा कसैको विरोध हुँदैन। सरकारले त्यस्तो प्रयास गर्नुपर्छ। तर, राउतसँग सहमति गरेर त्यस्तो गरेको मलाई लागेको छैन।’

‘राउतजीले म अब नेपालको संविधानअनुसार शान्तिपूर्ण राजनीतिक प्रतिष्पर्धामा आएँ भनेर हिजो बोलेको भए म आज यहाँ स्वागत गर्थें। तर, उहाँले आफ्नो सम्बोधनमा त्यस्तो बोल्नु भएन। उहाँले यसअघि राष्ट्र विरुद्धमा र देश टुक्र्याउने क्रियाकलाप र अभिव्यक्ति दिनुभएको थियो, ती सबै गलत हुन् र म फिर्ता लिन्छु भनेर एक शब्द पनि बोल्नुभएन।’

रावलले सरकारले कसैसँग सम्झौता वा सहमति गर्दा त्यससम्बन्धी उद्देश्य, गन्तव्य र एउटा स्पष्ट धारणा हुनुपर्नेमा सिके राउतसँग सम्झौता गर्दा उद्देश्य स्पष्ट नदेखिएको आरोप लगाए। उनले भने, ‘राउतजीले यदि नेपालको संविधानअनुसार अघि बढ्छु र यसअघि देश टुक्र्याउने र विखण्डनकारी अभिव्यक्ति दिएकोले अब म फिर्ता लिन्छु भनेर भन्नुपर्दथ्यो। तर, उहाँले त्यस्तो केही पनि भन्नुभएन।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिपछि सम्बोधन गर्दा देशको एक इञ्च पनि भूमि टुक्र्याउन पाईँदैन भनेर बोलेको उल्लेख गर्दै रावलले भने, ‘तर, हिजो स्वतन्त्र मधेश संगठन र सरकारबीच सहमति भएको छ। यसले के अर्थ दिन्छ ? स्वतन्त्र मधेश भनेको के हो ? यसको प्रधानमन्त्रीले नेपाली जनतालाई जवाफ दिनुपर्छ।’

उनले आफ्नै पार्टीका कतिपय साथीहरुले स्वतन्त्र मधेश संगठन भनेको त नाम हो भनेर हाँस्यास्पद तर्क गरेको पनि आरोप लगाए। उनले भने, ‘भोलि कसैले नेपाल समाप्त पार्टी गठन ग¥यो भने सरकारले सहमति गर्ने त ? यो तर्क नै गलत हो।’

रावलले सिके राउतले स्वयं आफ्नो फेसबुक पेजमा जनमत संग्रह गराउन नेपाल सरकार सहमत भयो भनेर पोष्ट गरेको पनि सुनाए। उनले भने, ‘उहाँले फेसबुकमा यस्तो कुरा लेख्नुभएको छ, स्वतन्त्र मधेशका सबै मुद्धाहरु फिर्ता लिन पनि सरकार सहमत भयो भनेर उहाँले लेख्नुभएको छ। यो निकै आपत्तिजनक हो। सरकारले यसको पनि जवाफ दिनुपर्छ ।’

हिजो भएको सहमति नेपालको संविधानविपरित र पार्टीको विधानविपरित भएको उनको टिप्पणी छ। आफू कम्युनिष्ट पार्टीको सच्चा कार्यकर्ता भएकोले पार्टीको विधानो प्रतिरक्षा गरेको पनि उनले स्पष्ट पारे। उनले भने, ‘मधेश टुक्र्याउँछु भन्नेहरुसँग जनमत संग्रह गर्न सहमत हुने हो ? यो कुरा संविधानले अनुमति दिन्छ त ? नेकपाको घोषणापत्रले अनुमति दिन्छ त ? म प्रश्न गर्न चाहन्छु।’

उनले अझै थपे, सहमतिको बुँदा नम्बर ४ मा स्व–शासनको कुरा उल्लेख गरिएको छ, जुन कुरा हामीले संविधान बनाउँदासमेत मानेका थिएनौं। अहिले फेरि यो कुराले प्रवेश किन पायो ?’ उनले यत्रो सहमति गर्दा पनि पार्टीभित्र छलफल नभएकोमा आक्रोश पोखे।

उनले भने, ‘पार्टीमा यस विषयमा छलफल गर्नुपर्दैन ? मैले त सहमति हुन्छ भन्ने थाहा पाएपछि नेताहरुमार्फत् आफ्नो मत प्रेषित गरेको थिएँ। हाम्रै पार्टीका साथीहरुले पनि भाषाहरु परिवर्तन गर्नुपर्छ भन्नुभएको थियो। तर, सच्याइएन। पार्टी भनेको सामूहिकतामा चल्नुपर्छ । एक/दुई जनालाई जे मन लाग्यो, त्यही गर्ने भए किन पार्टी चाहियो ?’ सहमति गर्नुअघि किन यो कुरा बाहिर पारदर्शी रुपमा नआएको भन्दै रावलले प्रश्न गरे।

उनले भने, ‘सुनियोजित र अन्य कुरा छैन भने बैठकमा कुरा राख्न किन गाह्राे भयो ?’ रावलले उक्त सहमतिबारे पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीमा छलफल गर्नुपर्ने माग गरे। उनले थपे, ‘यस विषयमा बहस हुनुपर्छ। यस्तो संवेदनशील विषय आउँदा बैठक बोलाउनुपर्दैन ?

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्