विप्लव समूह सुरक्षा चुनाैति हाेइन : गृहमन्त्री

ram-badal
लाेकपाटी न्यूज

सुर्खेत, २५ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा आउन आह्वान गरेका छन् । उनले विप्लव समूह सुरक्षाका लागि ठूलो चुनौति नभएको बताउँदै सरकारले सो समूह शान्तिपूर्ण राजनीतिमा आओस् भन्ने आफूहरुले चाहाना राखेकोे स्पष्ट पारे ।

सुरक्षा गोष्ठीमा सहभागी हुन आजसुर्खेतको विरेन्द्रनगर पुगेका गृहमन्त्री थापाले पत्रकारसँगको कुराकानीका क्रममा राज्यका विरुद्ध लाग्ने जो कोही अपराधी भएपनि त्यसको नियन्त्रणमा कठोरतापूर्वक लाग्ने चेतावनी दिए ।

उनले सबैलाई वार्तामा आउन र शान्तिपूर्ण रुपमा निकास निकाल्न सरकारले अपिल गरिरहेको जानकारी समेत गराएका छन् । उनले भने, ‘हामीले विभिन्न समूहहरूलाई राज्यको मुलधारमा आउन र लोकतान्त्रिक विधिबाट समास्याको समाधान खोज्न वार्तामा आउन अनुरोध गरिरहेका छौं ।

वार्तामा नआउने अपराधिक समूहप्रति राज्य कठोरतापूर्वक उभिनेछ । देशमा शान्ति, अमन चयन कायम गराउने राज्यकोे पहिलो कर्तव्य हो ।’ गृहमन्त्री बादलले विप्लव समूहले केही स्थानमा हिंसात्मक गतिविधि गरेतापनि राज्यले सहजै नियन्त्रणमा लिन सक्ने बताए ।

उनले भने, ‘हाम्रा लागि विप्लव समूह मुख्य चुनौती होइन । हामी हिंसात्मक गतिविधि गर्नेलाई नियन्त्रण गर्न सक्छौं । बाहिर हल्ला गरिए जस्तो विप्लव समूह चुनौतीका रुपमा आएको छैन ।’ उनले विप्लव समूह आफैं निस्तेज भएर जानेसमेत दाबी गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्