काठमाडौं, २५ फागुन। चालु आर्थिक वर्ष २०७५/०७६ को पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३९.१ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.८ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ।
अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) नयाँ र वैधानिकीकरणका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा गत वर्षकोभन्दा ठूलो गिरावट आएको छ। नेपालीको प्रमुख श्रम गन्तव्य मलोसियाको रोजगारी आर्थिक वर्षको सुरुआतबाटै बन्द छ। यसैका कारण विदेशिने नेपाली कामदारको संख्यामा उच्च गिरावट आएको हो।
मलेसियामा कामदार लैजाने गरी श्रम समझदारी भएपनि प्रक्रियाबारे कुरा नमिल्दा मलेसियामा नेपाली कामदारको आपूर्ति ठप्प छ। श्रम तथा रोजगार मन्त्रालयले पुरानो संयन्त्रबाट कामदार लैजान नदिने अडान लिएपछि नयाँ कामदार मलेसिया जाने बाटो बन्द छ।
तर, मलेसियाबाहेक अन्य देश जाने नेपालीको संख्यामा पनि गत वर्षभन्दा केही कमी आएको छ। साउनबाट पुससम्म पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४.५ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.८ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटेको छ। तर, यसै अवधिमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३०.२ प्रतिशतले वृद्धि भएको छ। ६ महिनामा ४ खर्ब ४३ अर्ब ३६ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.६ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ३.८ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा खुद ट्रान्सफर आय २८.७ प्रतिशतले वृद्धि भई ५ खर्ब ५ अर्ब ४३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १।८ प्रतिशतले घटेको थियो।



लाेकपाटी न्यूज

