काठमाडौं। उपराष्ट्रपति नन्द बहादुर पुनले महिलाहरुको विशाल, धैर्यवान् र सन्तुलित भूमिकाका कारण विश्व सुन्दर भएको कुरा बताएका छन्। नेपाल महिला चेम्बरको आयोजनामा आज राजधानीमा आयोजित अन्तर्रा्ष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
जैविक हिसाबले पनि महिलाका जिनहरुको संख्या पुरुषको भन्दा एकले बढी हुने भएकाले पुरुषभन्दा महिला शक्तिशाली हुने उनले बताए। ‘इतिहासमा महिलाहरुमाथि संसारभर भएको विभेदले नारीहरुलाई सचेत र जागरुक बनाएको हो’, उपराष्ट्रपति पुनले भने।
महिलाहरुले आफ्नो हक, अधिकार र अवसर प्राप्तिका लागि गरेको कठोर संघर्षको प्रतिफल स्वरूप नारी जगत आज समान दायित्व, भूमिका र अवसरका साथ राष्ट्र निर्माणमा अघि बढेको कुरा उनले बताए। आधा धर्ती ढाक्ने नारीहरुको अधिकारलाई नेपालको संविधानले सुनिश्चित गरेकाले महिला सहभागिताको दायरा फराकिलो भएको कुरा समेत उल्लेख गरे।
इतिहासमा नेपालको राजनीतिक, सामाजिक तथा आर्थिक रुपान्तरणका लागि महिलाले गरेको प्रेरणादायी योगदानको कारण देशमा परिवर्तन सम्भव भएको कुरामा उनले जोड दिए। ‘देशमा प्रजातन्त्र र गणतन्त्र ल्याउन अग्र मोर्चामा खटेर बलिदान गर्ने साहसिक महिला जगत नभएको भए देशले आज यो परिवर्तन पाउने थिएन’, उपराष्ट्रपति पुनले भने।
उनले देशको अर्थतन्त्रमाथि उकास्न आयात र निर्यातको क्षेत्रमा महिलाहरुको सहभागिताले ठूलो योगदान दिएको चर्चा गरे। तर, आज देशमा यति ठूलो परिवर्तन भए पनि महिलाहरुलाई हुने घरेलु हिंसा र बलात्कारजस्तो जघन्य अपराधमा कमि आउन नसकेकोमा उनले चिन्ता प्रकट गरे।
कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्षले यस पटकको अन्तर्राष्ट्रिय महिला दिवसको मूल ‘थिम’ ‘अझैं राम्रो सन्तुलन, अझैं राम्रो संसार’को मर्म अनुसार नेपाल चेम्बर अफ कमर्श लागिरहेको कुरा उल्लेख गरे। सन् २०१८ मा गठन गरिएको नेपाल महिला चेम्बरले विश्व बैंकको प्रतिवेदनमा उल्लेख भएको लक्ष्य हासिल गर्न नेपाल महिला चेम्बर लागिरहेको कुरा समेत उनले उल्लेख गरे।
विश्वभर महिला व्यवसायीहरुको संख्या एक अर्ब पुर्याउने लक्ष विश्व बैंकको प्रतिबेदनले बताएको छ। नेपालको संविधानमा भएको व्यवस्थाकै कारण राष्ट्रप्रमुख र व्यवस्थापिकाको प्रमुखमा महिलाको उत्कृष्ट भूमिका र क्षमता देखिइसकेकाले मौका पाए महिलाहरुले देश हाँक्न सक्छन् भन्ने कुरा समेत उनले उल्लेख गरे।
नेपाल महिला चेम्बरका सभापति उर्मिला श्रेष्ठले नेपाली नारीहरुको सङ्घर्षको कारण आज राज्यका निकायहरुमा ३३ प्रतिशत कोटा प्राप्त भएको कुरा बताइन्। नारीहरु चुल्हो र चौकोमा मात्र सिमित हुने बिरासतमा नारीहरुकै भूमिकाको कारण परिवर्तन भएको र राज्यको नीति निर्धारण र कार्यान्वयनको तहमा पुग्न सकेको कुरा उनले बताए। नेपालको संविधानले नारीहरुलाई जति अधिकार प्रदान गरेको छ, त्यो पर्याप्त नभएको समेत उनको तर्क थियो।
जनसंख्यामा ५० प्रतिशतभन्दा बढी नारी जगतले राज्यका निकायहरुमा एकतिहाई मात्र प्राप्त गर्नु अझैं पनि विडम्बनाको विषय भएको कुरा उनले उल्लेख गरे। यस वर्षको नारी दिवसले देशमा र विश्वमा सन्तुलन कायम गर्नलाई हरेक तह र तप्कामा ५० प्रतिशत भूमिका, जिम्मेवारी र अवसर प्रदान गर्ने बाटो खुलोस् भन्ने शुभकामना समेत उनले व्यक्त गरे।
कार्यक्रममा युरोपियन युनियनका राजदूत बेरोनिका कोडीले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमम उत्कृष्ट पेशा व्यवसाय गरेका ९ जना महिलाहरुलाई नेपाल महिला चेम्बरले सम्मान गरेको थियो। सम्मान पाउनेमा विधाता श्रेष्ठ, कृष्ण कुमारी पौडेल, लाक्पा फुटी शेर्पा, मीरा भट्टराई, शिव कुमारी डंगोल, सुलोचना श्रेष्ठ नेवा, मञ्जु मिश्र, अनुपमा खुन्जेली र लक्ष्मी शर्मा छन्।



लाेकपाटी न्यूज

