काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कार्यकर्ता पक्राउको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।
नेता–कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालीकोट लगायतका जिल्लामा भएको अप्रेशनका विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गर्दै यही फाल्गुन ३० गते आमहडताल सहित नेपाल बन्दको घोषणा गरेको नेकपाले जनाएको छ।
महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सङघर्षको कार्यक्रम घोषणा गरेका छन्। विप्लवको विज्ञप्तीमा भनिएको छ “केपी–प्रचण्ड सरकारले केही समयदेखि देशभरि फासिष्ट दमन अभियान तीव्र वनाएको छ। हाम्रो पार्टी यो रक्तपिपाशु दमनको घोर भत्र्सना गर्दछ।’
विज्ञप्तिमा भनिएको छ, ‘देशभरि भइरहेको सेना प्रहरी परिचालन र दमनका विरुद्ध यही फाल्गुन ३० गते आमहडताल सहित नेपाल बन्द आयोजना गरेको छ। यो वन्दलाई यातायात, शिक्षा, स्वास्थ्य, कलकारखाना लगायत सम्पूर्ण क्षेत्रहरु वन्द गरेर सहयोग पुर्याइदिन हुन विशेष आग्रह गर्दछौं ।”
शुक्रबार मात्रै प्रधानमन्त्री ओलीले (नेकपा) का कारण आफूहरुलाई पनि नेकपा भन्न लाज लाग्ने अवस्था आएको भन्दै विप्लवलाई पार्टीको नाम लुटेरा समूह राख्न भन्दै चेतावनीपूर्ण अभिव्यक्ति दिएका थिए।



लाेकपाटी न्यूज

