चैनपुर, २४ फागुन । अपहरणमा परेकी भनिएकी नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ की प्रदेश सभा सांसद देवकी मल्ल स्थानीय प्रशासनको सम्पर्कमा आएकी छन् ।
बुंगल नगरपालिकाको विजगडा भन्ने ठाउँबाट फर्किदै गर्दा नेकपाकी प्रदेशसभा सांसद देवकी मल्ल सम्पर्कविहीन भएकी थिइन् । उनलाई बझाङको बुँगल नगरपालिकाबाट नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले अपहरण गरेको स्थानीयको भनाइ थियो ।
यद्यपि, सम्पर्कविहीन भएको भनिएको करिब ३ घन्टापछि मल्ल आफूहरुको सम्पर्कमा आएको बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले खबरहबलाई जानकारी दिए । ‘माननीय ज्यू सम्पर्कविहीन भएको भन्ने सूचना आएपछि हामीले उहाँसँग सम्पर्क गर्न खोजेका थियौं,’ प्रमुख जिल्ला अधिकारी सुनारले भने, ‘अहिले उहाँ हाम्रो सम्पर्कमा आउनु भएको छ । उहाँसँग मेरो टेलिफोनमा कुराकानी भएको छ ।’
प्रजिस सुनारले सांसद मल्ल जिल्ला सदरमुकाम चैनपुर पुग्न लागेको पनि जानकारी दिए ।



लाेकपाटी न्यूज

