काठमाडौं, २४ फागुन । नमुना प्रगतिशील महिला समाज कलंकी, काठमाडौँले आज द्वन्द्वपीडित महिला तथा बालबालिकाहरुलाई सम्मान गरेको छ । १०९ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर उनीहरुलाई शुक्रबार सम्मान गरिएको हो ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा ‘द्धन्दपीडित महिला तथा बालबालिकाको व्यवस्थापनमा सरकार र नागरिक समाजको भूमिका’ विषयक अन्तरक्रिया एवं सम्मान कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै पूर्वसभासद् तिलक परियारले नारी दिवसलाई महिलाको त्याग र बलिदानस्वरुप पाएको दिनको रुपमा चित्रण गरेका छन्। उनले यो दिवसले आफ्नो अधिकारको समान हक, समान कामको समाज ज्याला र महिलाको समान जनसहभागितामा रुपान्तरण गरेको जानकारी गराए ।
आजभन्दा १०९ वर्ष अगाडि महिलाहरुलाई भोट गर्न पाउने अधिकार नभएको स्मरण गर्दे विभेदको अन्त्यको रुपमा आजको दिनलाई महिलाहरुको अधिकार सुनिश्चितताको रुपमा हेर्नुपर्ने उनको धारणा छ ।
अहिले नेपालमा पनि नारीहरु आफ्नो हक र अधिकारमा सचेत बन्दै गएको उनको दाबी छ । उनले हरेक एक घरबाट नारीको हक–हितमा सोच्न आवश्यक रहेको बताए । समाज हर एक नागरिकबाट बन्ने भएका कारण सामाजिक प्राणीको रुपमा महिला अधिकारको बारेमा सोच्नुपर्नेमा पनि उनले जोड दिए ।
त्यस्तै कार्यक्रममा बोल्दै पूर्व सांसद् नानीमाया दाहालले महिलाहरुले आफ्नो अधिकारको रुपमा सचेत हुनुपर्ने जानकारी गराइन्। जबसम्म समाजले समान हकअधिकारको प्रत्याभुति गराउँदैन तबसम्म समानता र अधिकार संविधानमा मात्रै सीमित बन्ने उनको जिकिर छ ।
मुलुक सक्षम र समृद्ध बन्न नारीको सम्मान रहेको उनको भनाइ छ । ‘जुन देशमा नारीको सम्मान हुदैन, त्यो देशको बिकास र समृद्धि कल्पना बाहिरको कुरा हो’–उनले भनिन् । उनले नारीलाई पृथ्वीसँग तुलना गरिन् ।
त्यस्तै कार्यक्रमा बोल्दै आयोजक संस्थाकी अध्यक्ष कोपिला कुँवरले आफू र आफ्नो संस्थाको क्रियाशिल सदस्यहरु जनयुद्वका मारमा परेका नागरिकको समस्या समाधानको निमित्त अहोरात्र सक्रिय रहने पनि जनाइन् ।



लाेकपाटी न्यूज

