‘प्रचण्डजीमा असाधारण निर्णय क्षमता छ’ : प्रधानमन्त्री ओली

kp sharma oli
लाेकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुलेर प्रशंसा गरेका छन्।

शुक्रबार दिउँसो गृह मन्त्रालयले राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड, गृहमन्त्री बादल, स्वतन्त्र मधेश गठबन्धनका नेता सिके राउत लगायत थिए।

सिके राउतलाई राजनीतिक मुलधारमा ल्याउने कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले प्रचण्डको प्रशंसा गरेका हुन्। प्रधानमन्त्रीले मुलधारको राजनीतिमा आएर सिके राउतले पनि शान्तिको सन्देश दिएको भन्दै प्रशंसा गरे। उनले नेपालको राजनीतिमा नयाँ अध्याय थपिएको बताए।

सम्बोधनमा प्रधानमन्त्री ओलीले भने, ‘प्रचण्डजीले युद्धको घोषणा गर्नुभो। त्यति ठूलो युद्धको नेतृत्व गर्नुभो। हतियार उठाउनुभो। संविधान सभाको निर्वाचनमा आउनुभयो। त्यति ठूलो युद्धलाई शान्ति प्रक्रियामा रुपान्तरण गर्नुभयो। यो सामान्य मुटुले गर्ने कुरा होइन।’

‘अघिल्लो वर्ष हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता गर्‍यौं। यसमा प्रचण्डजीकै निर्णय क्षमताले काम गरेको छ’ ओलीले भने, ‘प्रचण्डजीमा असाधारण निर्णय क्षमता छ। जस्तासुकै समस्यालाई पनि सहज ढंगले हल गर्ने खुवी छ।’

प्रधानमन्त्री ओलीले सिके राउतले पनि राम्रो निर्णय क्षमता देखाएको बताए। उनले भने, ‘सिके राउतजीमा पनि निर्णय क्षमता रहेछ। उहाँले आज ठूलो निर्णय गर्नुभयो। यसले राष्ट्रिय एकता अझै बलियो भएको छ, हिंसाको राजनीति अन्त्य भएको छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्