विप्लव–प्रकाण्ड लुटेरा समूह हुन् : प्रधानमन्त्री ओली

kp oli
लाेकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लुटेरा समूह भएको बताएका छन्।

शुक्रबार दिउँसो राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘एउटा नेकपा भन्ने छ। त्यो नेकपा होइन, त्यो लुटेर समूह हो। त्यसले नेकपा भन्ने शब्द हटाए हुन्छ। कम्युनिष्ट पार्टीको नाम किन राख्ने ?’

प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टीको नाम बेचेर नलुट्न चेतावनी दिए। ‘कम्युनिष्ट पार्टीको नाम राखेर लुट्ने ? लुट्नका लागि अनेक चालबाजी गर्ने ? बम पड्काएर, मान्छे मारेर हिंड्ने ?’ ओलीले भने, ‘भित्र एसएलआर राखेर जनतालाई किन दुख दिएको भन्ने ? यो छुट कसैलाई छैन। मान्छे मारेर कम्युनिष्ट पार्टीको नाम लिन बन्द गर्नुस्।’

प्रधानमन्त्री ओलीले कानून प्रयोग गरेर विप्लव समूहलाई तह लगाउने दावी गरे। उनले भने, ‘नेकपा नाम फेर्नुस्, त्यसको नाम लुटेरा समूह राख्नुस्। लुटेरा पार्टी धेरै छन् भने बरु लुटेरा समूह विप्लव, लुटेरा समूह प्रकाण्ड राखे हुन्छ।’

उनले विप्लव माओवादीलाई प्रशासनिक रुपमा नियन्त्रण गरिने बताए। प्रधानमन्त्रीले भने, ‘हामी कानून कार्यान्वयन गराउँछौं। चन्दा असुलेर, मान्छे मारेर हिंड्ने राजनीति चल्दैन, चल्न दिन्नौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्