काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र मधेश गठबन्धनका नेता सिके राउतमा असाधारण क्षमता भएको बताएका छन्।
सिके राउतसँग ११ बुंदे सहमतिपछि बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘मलाई चिन्ता थियो, पढेलेखेको मान्छे बिग्रिने हो कि भन्ने चिन्ता थियो। तर, आज खुसी लागेको छ। उहाँ थिङ्कर पनि हुनुहुँदो रहेछ। यसले हामीलाई पनि नयाँ सन्देश दिएको छ।’
प्रधानमन्त्री ओलीले भने, ‘प्रचण्डजीमा असाधारण क्षमता छ भन्ने मलाई थाहा छ। सिके राउतजीसँग पनि असाधारण क्षमता नै रहेछ। उहाँले शान्तिपर्ण बाटो लिनुभएको छ। पृथकतावादको बाटो छोड्नुभएको छ, यो ठूला कुरा हो। उहाँलाई म विशेष धन्यवाद दिन चाहन्छु।’
शान्तिपूर्ण बाटोमै अघि बढ्न सकिने प्रधानमन्त्रीले बताए। ‘राणाशासनविरुद्ध संघर्ष गर्दा हिंसा नै गर्नुपर्थ्यो। किनकि त्यहाँ शान्तिपूर्ण विरोधको अधिकार थिएन। अब त्यो अवस्था छैन। आफ्नो फरक मत शान्तिपूर्ण रुपमा राख्न सकिन्छ, राख्न पाइन्छ। अब नेपालमा हिंसाको औचित्य छैन।’
उनले आफूले लागू गरेको प्रणाली उन्नत भएको बताएका छन्। सम्बोधनमा ओलीले भने, ‘हामीले बेलायतकोजस्तो औपचारिक लोकतन्त्र मात्र मानेका छैनौं। हाम्रो संविधानका ३३ वटा धारामा मौलिक हकका लागि छुट्टिएका छन्। १६ वटा मौलिक हक कार्यान्वयनका लागि कानून बनिसकेका छन्। अब विद्रोहको जरुरी छैन।’



लाेकपाटी न्यूज

