काठमाडौं। स्वतन्त्र मधेश गठबन्धनका नेता सिके राउतले समुदाय समुदायसँग नलडाउने सपना पूरा नहुने बताएका छन्।
‘हामीले पनि स्वतन्त्र मधेशका लागि जनमत संग्रहका लागि गरौं भन्ने माग थियो। यो सरकारले पनि स्वीकार गरेको छ’ राउतले भने, ‘जनताको फैसला नै मूख्य कुरा हो। हामी त्यो मान्छौं, हामी हिंसाको पक्षमा छैनौं। जनताले आफ्नो अधिकार प्रयोग गरुन्, हामी त्यो मान्छौं।’
उनले सरकारले २ नम्वर बुंदामा जनमत संग्रह स्वीकार गरेको दावी गरेका छन् । उनले भने, ‘मधेशमा जनमग संग्रह हुन्छ। हामी शान्तिपूर्ण रुपमा नै जान्छौं। स्वतन्त्रता मूख्य कुरा हो, त्यो हरण भएको अनुभूति जेलमा हुन्छ।’
आफ्नो जेल जीवन सम्झँदै भने, ‘म जेल बसें, त्यस क्रममा धेरैले सहयोग गर्नुभयो। म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु। जेल आफैमा महाविद्यालय रहेछ। मैले त्यहाँ धेरै सिकें, धेरै अनुभूति गरे। जेलबाट मैले स्वतन्त्रता सिकें। यो स्वतन्त्रता जनताको सुख र समृद्धिका लागि खर्चिनेछु।’
‘म नियतिलाई पनि धन्यवाद दिन चाहन्छु’ राउतले भने, ‘अपराधी निर्वाध हिडेको छ भने त्यो राज्यको असफलता हो, पुलिसको असफलता हो। तर, निर्दोष मान्छे जेल जान्छ भने त्यो राज्यको असफलता हो। राज्य साधन हो, साध्य होइन। राज्यको स्थापना नै हाम्रो स्वतन्त्रता र सुरक्षाका लागि भएको हो।’
‘प्रधानमन्त्री आफै १४ वर्ष जेल बसेर आउनुभएको छ। उहाँलाई म स्मरण गराउन चाहन्छु’ राउतले भने, ‘हाम्रा जेलको अवस्था दर्दानाक छ। त्यहाँ भौतिक पूर्वाधार छैन। प्रधानमन्त्रीले भुल्नुभयो कि त्यतातिर पनि सुधार होस् भन्ने मेरो अपेक्षा छ।’



लाेकपाटी न्यूज

