म प्रधानमन्त्री बन्न सक्छु : सांसद चौधरी

chanda chaudhary
लाेकपाटी न्यूज

कार्यक्रममा राष्ट्रिय जनता पार्टीकी महामन्त्री तथा सांसद चन्दा चौधरीले पछिल्ला केही वर्षमा महिला आन्दोलनको उपलब्धि देखिए पनि पर्याप्त नभएको तर्क गरेकी छिन्।

रिपोर्टर्स् क्लबमा बोल्दै आरक्षण र ३३ प्रतिशतको बाध्यकारी नियमले मात्रै महिलाको सहभागिता बढेको उल्लेख गर्दै चौधरीले स्थानीय निकायमा प्रमुख जति सबै पुरुष उपप्रमुख जति महिलालाई दिइएको गुनासो गरिन्।

चौधरीले पनि निर्मलाका बलात्कारीलाई सरकारले नै लुकाएको आरोप लगाइन्। “निर्मला पन्तको हत्यारा पत्ता लागिसकेको छ। तर, सरकारले लुकाएको छ। गरिब र निमुखालाई मात्रै नियम लाग्ने हो ?” चौधरीले भनिन्।

बलात्कारीलाई फास्ट ट्रयाकबाट कारबाही गर्ने व्यवस्थासहितको कानुन बनाउनुपर्नेमा चौधरीको जोड छ। चौधरीले समाजमा मात्रै नभई संसदमा पनि महिला हिंसा हुने गरेको उनले बताइन्।
बजेट वितरणमा महिला सांसदलाई विभेद गरिएको उनको गुनासो थियो। चुनावकै बेला समानुपातिकतर्फ राख्ने अनि बजेट दिने बेलामा प्रत्यक्षतर्फका सांसदलाई धेरै दिने गरिएको उनको आरोप थियो।

“संसदमा महिलालाई शोपिस बनाइयो। अब हामीलाई समानुपातिकबाट ल्याउनुपर्दैन। प्रत्यक्षमा चुनाव लड्न तयार छौँ” उनले भनिन्। आफूहरु प्रधानमन्त्री बनेर देश सञ्चालन गर्नसमेत योग्य भएको उनले बताइन्।

उनले मिडियाले पनि महिलाको आवाजलाई कम महत्व दिएको आरोप लगाइन्। “हामीले बोलेका कुरा किन महत्वपूर्ण मानिँदैन ? पुरुष नेताले बोलेका कुरा मात्रै हाइलाइट गरिन्छ” उनले गुनासो गरिन्।

चौधरीले नेपालमा भएका भ्रष्टाचारका अधिकांश घटनामा पुरुषहरु नै संलग्न रहेको आरोप लगाइन्। जुन निकायमा पनि पुरुष नै प्रमुख भएकाले भ्रष्टाचार बढेको उल्लेख गर्दै उनले महिलाको भूमिका प्रभावकारी भएको ठाउँमा भ्रष्टाचार नभएको दावी गरिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्