विश्वका ६ देश, जहाँ महिलालाई पुरुषसरह अधिकार दिइन्छ

equal rights
लाेकपाटी न्यूज

काठमाडौं, २४ फागुन । विश्वमा महिला र पुरुषलाई समान कानुनी र आर्थिक अधिकार दिने मुलुकहरू अहिले पनि औंलामा गन्न सकिने छन् ।

विश्वका १ सय ८७ देश मध्ये जम्मा ६ देशले मात्र महिलालाई पुरुष सरह कानुनी र आर्थिक अधिकार दिएको छ । विश्व ब्याङ्कको नयाँ विश्लेषण “वीमिन, बिजनेश र ल“ अर्थात महिला व्यवसाय र कानुन नाम दिइएको प्रतिवेदनमा भनिएको छ महिला र पुरुषबीच “पूर्ण समानता“ १८७ देशमध्ये जम्माजम्मी ६ देशमा छ ।

वाशिङटनमा मुख्यालय रहेको विश्व ब्याङ्कले १० वर्षको तथ्याङ्क आर्थिक र कानुनी असमानता लगायत आवतजावतमा रहेको स्वतन्त्रता, मातृत्व, घरेलु हिंसा र सम्पत्ति व्यवस्थापन अधिकार जस्ता विषयको आधारमा जाँच गरेको थियो ।

जसमा बेल्जियम, डेनमार्क, फ्रान्स, लाट्भिया, लक्जमबर्ग र स्वीडेनमा मात्र ती क्षेत्रमा महिला र पुरुषलाई समानता रहेको पाइएको छ । विश्वव्यापी रुपमा महिलाहरूले पुरुषको तुलनामा ७५ प्रतिशत मात्र अधिकार उपभोग गर्न पाउँछन् ।

विभिन्न क्षेत्रहरूले विभिन्न अङ्क पाएका छन् युरोप र मध्य एशियाले ८४.७५ पाएका छन् । मध्य पूर्व र उत्तर अफ्रिकाले पाएको अङ्क ४७.३५ छ । अमेरिकामा ८३.७५ प्रतिशत समानता छ । त्यो भनेको अमेरिका माथिल्ला ५० मुलुकभित्र पर्दैन । साउदी अरेबिया जहाँ महिलालाई नियन्त्रण गर्ने अनेकथरी कानुन छन् सूचिको सबभन्दा अन्तमा परेको छ जसले २५.६५ प्रतिशत मात्र समानता दिएको छ ।

‘पहिलो काम हात पारेकी २५ वर्षीया या कामकाजी आमा जसले काम र बच्चाको रेखदेखको सन्तुलन मिलाउनुपर्छ, अथवा अवकाश लिने समय पुग्न लागेकी महिला या महिलाले लिने आर्थिक निर्णयहरू कसरी कानूनले प्रभावित पारेका हुन्छन् भन्ने तथ्यहरूमाथि विश्लेषण गरिएको थियो, विश्व ब्याङ्ककी अन्तरिम अध्यक्ष क्रिस्टालिना जिओर्जीभाले जारी गरेको विज्ञप्तिमा भनेकी छन् ।’

‘कैयौं नियम कानुनहरूले महिलालाई कार्यक्षेत्रमा प्रवेश गर्न या व्यवसाय शुरु गर्न रोक्ने गरेका छन् । ती भेदभावले महिलाहरूको आर्थिक समावेशिता र श्रम क्षेत्रमा सहभागितामाथि दुरगामी प्रभाव पार्न सक्छन् ।’

प्रतिवेदनमा कैयौं देशले अगाडि सारेका सकारात्मक कदमहरूलाई प्रमुखता साथ प्रस्तुत गरिएको छ । विश्व ब्याङ्कका अनुसार गत दशकमा १ सय ३१ वटा मुलुकले २ सय ७४ वटा सुधारवादी कानुनहरू कार्यान्वयनमा ल्याएका छन् जसले लैंगिक समानता बढाएको छ । रिपोर्टमा भनिएको छ, ‘३५ देशहरूले कार्यक्षेत्रमा महिलामाथि हुने यौन हिंसाबाट जोगाउन कानुन कार्यान्वयनमा ल्याए । त्यसबाट एक दशक अघिको तुलनामा करिब दुई अर्ब महिलाहरूलाई संरक्षण मिल्यो ।’

सब सहारान अफ्रिका क्षेत्रमा रहेका संसारका असाध्यै गरिब मुलुकहरूमा गत एक दशकमा लैंगिक समानताका सबभन्दा धेरै सुधारहरू शुरु गरिएका छन् । विश्व ब्याङ्कको रिपोर्टमा महिलाले भर्खर काम खोज्ने महिलादेखि, व्यवसाय सञ्चालन हुँदै पेन्सन पाउने अवस्थाका गरी कार्यालयमा विताएको जीवनका सूचकाङ्कहरू विश्लेषण गरिएको थियो ।

रिपोर्टमा ३३ वटा देशले बच्चा जन्मँदा बाबुलाई छुट्टी दिन शुरु गरेको कुरालाई उल्लेख गरेको छ र घरेलु हिंसा विरुद्ध ४७ देशले कानुन पारित गरेको बताएको छ । क्रिस्टालिना जिओर्जीभा भन्छिन्, ‘लैंगिक समानता प्राप्त गर्नु भनेको कानुन परिवर्तन गर्नु मात्रै होइन भन्ने हामीलाई थाहा छ । कानुनहरूको अर्थपूर्ण कार्यन्वयन हुनुपर्छ त्यसो गर्न निरन्तरको राजनीतिक इच्छाशक्ति, समाजमा महिला र पुरुषको नेतृत्व र जरा गाडेर बसेका सांस्कृतिक परम्परा र प्रवृत्तिमा परिवर्तन आवश्यक छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्