प्रचण्डको सन्देश : ‘महिलाहरु आर्थिक हिंसाबाट मुक्त हुनुपर्छ’

Prachanda_1
लाेकपाटी न्यूज

काठमाडौं। नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलालाई समान अधिकारले मात्र नपुग्ने बताउँदै अतिरिक्त अधिकार दिनुपर्ने बताएका छन्।

१०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले महिलालाई अतिरिक्त विशेष अधिकार दिनुपर्ने उल्लेख गरेका हुन्। प्रचण्डले सन्देशमा जनयुद्ध लगायतका क्रान्तिकारी आन्दोलनमा महिला सहभागिताले सामन्तवाद ढलेको स्मरण गरेका छन्।

प्रचण्डले सन्देशमा भनेका छन्, ‘महान् जनयुद्ध र विभिन्न प्रकारका सङ्घर्षहरुमा नेपाली महिलाहरुको नेतृत्व र सहभागिताले नै नेपाल सामन्तवादबाट मुक्त हुन सकेको हो।’ यस्तो छ प्रचण्डको शुभकामना सन्देश।

‘१०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली श्रमजीवि दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।

नेपालको राजनीतिक परिवर्तनमा नेपाली महिलाहरुले देखाएको संघर्षको कीर्तिमान नेपालको इतिहासमा मात्र होइन, विश्व इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ। महान् जनयुद्ध र विभिन्न प्रकारका सङ्घर्षहरुमा नेपाली महिलाहरुको नेतृत्व र सहभागिताले नै नेपाल सामन्तवादबाट मुक्त हुन सकेको हो।

नेपाली महिलाहरुको आफ्नै त्याग, तपस्या र बलिदानबाट नै देश संघीय लोकतान्त्रिक गणतन्त्रमा आउन सफल भएको भयो। वर्तमान संविधानमा महिलाहरुको ३३ प्रतिशत संसदमा प्रतिनिधित्व सुरक्षित गरी एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलूकमा हाम्रो देश पर्न सफल भएको छ।

देशमा राजनीतिक स्थायित्व पश्चात मूलुकको आर्थिक समृद्धिमा महिलाहरुको भूमिका महत्वपूर्ण छ। महिला माथि हुने सबै प्रकारका हिंसाहरुको कारणहरुमध्ये आर्थिक मुख्य हो। आर्थिक रुपमा महिला सबल नभई देश समृद्ध बन्दैन। महिलाहरुलाई शिक्षा र रोजगारमा समावेशी र समानुपातिक प्रणालीका अतिरिक्त विशेषाधिकारको व्यवस्था हुनु उत्तिकै जरुरी छ।

श्रमिक महिला दिवसको अवसरमा समस्त नेपाली महिला दिदीबहिनीहरुको लैंगिक समानता, महिला सशक्तिकरण र महिलाहरुको हक अधिकार प्राप्तिको अभियानमा एकढिक्का भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्