विप्लवको गाउँमा प्रहरीले चलायाे ‘सर्च अपरेसन’

Biplab
लाेकपाटी न्यूज

काठमाडाैं, २३ फागुन । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवको घर रहेको कपिलवस्तु शिवगढीमा प्रहरीले सर्च अपरेसन शुरु गरेको छ ।

बिहीबार विहानै प्रहरी टोली अवैध हातहतियार भएको सूचनाका आधारमा शिवराज नगरपालिका वडा नं. ९ शिवगढीमा पुगेको थियो । प्रहरी टोलीले विप्लव समूहका नेता दुर्गाबहादुर रोकाको घरमा छापा मारेको छ । प्रहरी टोली आएको देखेपछि भाग्न खोजेको उनलाई खुट्टामा गोली हानेर पक्राउ गरिएको छ । उनको लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचार भइरहेको छ ।

रोकाको घरबाट एसएमजी राइफल एक थान र त्यसमा लाग्ने म्यागेजिन ३ वटा, चाइनिज पेस्तोल एक थान र म्यागेजिन २ वटा, ४० मिटर तार र एक थान रिमोट बरामद भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए ।

प्रहरीले विप्लवका भतिज यादव चन्दको घरमा छापा मार्न खोज्दा स्थानीयबासीले प्रतिकार गरेका छन् । स्थानीयबासीले ढुंगामुढा गर्दा प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएका छन् । प्रतिकारमा उत्रिएका स्थानीयले स्कूले विद्यार्थी समेत ल्याएकाले आफूहरुले संयमता अपनाएको प्रहरीले जनाएको छ । प्रहरीले अहिले पनि शंकापद घरहरमा निगरानी गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्