काठमाडौं, २३ फागुन । आज ग्याल्बो ल्होसार, हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले धुमधामका साथ मनाइरहेका छन् ।
नेपालमा तमु, सोनाम र ग्याल्बो गरी तीनवटा ल्होसार मनाउने चलन छ । ल्होसार मान्ने समुदायलाई सरकारले आज सार्वजनिक विदा दिएको छ । यो पर्व मान्ने समुदायले आज गाउँघर र टोलको बाटोघाटो तथा पानीका श्रोतको सरसफाई, लेनदेनको हिसाब मिलानलगायत काम गरी नयाँ वर्षको स्वागत गर्ने गर्छन ।
ग्याल्बो ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताले भरिएको नेपाली समाजका चाडपर्व साझा सम्पत्ति भएको बताएकी छन्।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले साँस्कृतिक विविधता नेपालीको पहिचान भएको बताएका छन् । शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालको भूगोलमा १२५ जाती र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैंमा गौरवको विषय भएको पनि सन्देशमा उल्लेख गरेका छन् । ‘नेपाल आफैंमा एउटा संग्राहलय हो । यस भूगोलमा यती धेरै साँस्कृति विविधता छ, जो अन्यत्र पाइदैन,” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘यी विविधतालाई संरक्षण गर्न सरकार सधैं सकारात्मक छ ।’ प्रधानमन्त्री ओलीले ग्याल्बो ल्होसार मनाउने सबै समुदायलाई सुख, शान्ती र उत्तरोत्तर प्रगतिको कामना पनि व्यक्त गरेका छन् ।



लाेकपाटी न्यूज

