पीडित भन्छन् : ‘ढिलै भएपनि न्याय पाइयो’

Resham chaudhary
फाइल तस्बिर
लाेकपाटी न्यूज

काठमाडौं, २३ फागुन । टिकापुर घटनाका मुख्य अभियुक्त रेशम चाशेभरीलाई जन्म कैद गरी अदालतले पीडितका पक्षमा फैसला गरेको छ ।

गम्भीर अपराधले राजनीतिक उन्मुक्ति पाउन सक्ने शंका भइरहँदा कैलाली जिल्ला अदालतले पीडितका पक्षमा फैसला गरेको पीडितहरुको भनाइ छ । कतिपय घटनामा राजनीतिक ओतमात्र हुँदैन भन्ने नजिर कैलाली जिल्ला अदालतको बुधबारको फैसलाले देखाएको छ ।

भूमिगत रूपमा निर्वाचन लडेर प्रतिनिधिसभा सदस्य बनेका रेशमलाल चौधरीले सांसदको शपथ खाएको दुई महिनापछि जिल्ला अदालतले उनलाई सर्वस्वसहित जन्मकैद फैसला सुनाएको हो ।
२०७२ भदौ ७ मा ८ सुरक्षाकर्मीसहित ९ जनाको ज्यान गरी भएको टीकापुर घटनाका मुख्य अभियुक्त चौधरी प्रहरीको ‘मोस्ट वान्टेड’ को सूचीमा रेहका बेला राजपाबाट चुनाव लडी कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

राजपाको दबाब र थारू समुदायको माग सम्बोधन गर्दै सरकारले पुर्पक्षका लागि थुनामा रहेका चौधरीलाई सांसदको शपथ खुवाएको थियो । शपथ खुवाए पनि संघीय संसद्मा चौधरीलाई उपस्थित हुन दिइएको थिएन ।

अदालतले बुधबार चौधरीसहित ११ जनालाई जन्मकैद सजाय सुनाएको हो। अदालतले लक्ष्मण चौधरीसहित १३ जनालाई तीन वर्ष कैद र अन्य तीनजनालाई सफाइ दिएको छ । जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले यस्तो फैसला सुनाएको हो ।

यता घटनामा आफन्त गुमाएका पीडितले ढिलै भए पनि न्याय पाएको प्रतिक्रिया दिएका छन् । ‘न्यायका लागि तीन वर्षदेखि लडिरहेका थियौं । न्याय नपाइने हो कि भन्ने लाग्थ्यो, तर अदालतले ढिलै भए पनि न्याय दिएको छ, ’ घटनामा पति प्रहरी निरीक्षक केशव बोहरा गुमाएकी शारदा बोहराले भनिन्, ‘लामो समयदेखि पर्खिएकी थिएँ न्यायका लागि, आज न्याय पाएको महसुस गरेकी छु ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्