‘जीवनभर कमाएको सम्पत्ति जुवा खालमा स्वाहा’

Play card taas
लाेकपाटी न्यूज

काठमाडौँ। पुख्र्यौलीघर म्याग्दी भई हाल गोंगबु बस्दै आएका ५० वर्षीय खम्म मगर अवकाशप्राप्त ब्रिटिस–लाहुरे (ब्रिटिस गोर्खा सैनिक) हुन्। अवकासपछिको जीवन समाजसेवामा खर्चिने उद्देश्यले नेपाल फर्किएका मगर यतिखेर समाजसेवामा नभई सङ्कटमा परेका छन्।

गोरखापत्र दैनिक लेख्छ – साथीसङ्गीसँगको बाक्लो उठबसका कारण जुवाको लतमा फसेका मगरले जागिरे जीवनबाट प्राप्त गरेको अधिकांश सम्पत्ति गुमाइसकेका छन्। केही दिनअघि गोंगबुस्थित जुवाखालबाट समातिएका मगर त्यसअघि पनि तीन पटक पक्राउ परिसकेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौँले मगरसहित पक्राउ परेका नौ जनालाई जुवा खेलेको आरोपमा पक्रिएको छ। जुवाडेको साथबाट नगद नभई किलोभन्दा बढी मकैको गेडा र सिमीको दाना बरामद गरिएको छ। परिसर प्रमुख बसन्तकुमार लामाका अनुसार प्रहरीको आँखा छल्न र जुवा खेललाई सहज बनाउन नगदको सट्टा मकै र सिमी प्रयोग गर्छन्।

काठमाडौँ उपत्यकामा सञ्चालित अवैध जुवाअखडाहरूमा नगदको सट्टा यस्तै गेडागुडी प्रयोग गरी जुवातास खेल्दाखेल्दै कतिपय पूर्वब्रिटिस लाहुरे मगरजस्तै सङ्कटमा परेका छन्।

गोकर्णेश्वर जोरपाटीबाट पक्राउ परेका वाङ्गेल लामा भन्छन्, “जुवाखालमा हार्दा सिमीको दाना हारेको जस्तै हुन्छ। तर, त्यसलाई पछि नगदमा रुपान्तरण गर्दा घरजग्गा नै गइसकेको हुन्छ।” जुवाघर सञ्चालनको आरोपीसमेत रहेका वाङ्गेल जुवातास ‘नसा’ भएको स्वीकार्छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्