काठमाडौं, २२ फागुन । त्रिभुवन विश्वविद्यालयमा अनेक किसिमका बेथिति र अनियमितता हुने गर्दछन् । र त्यस बारेमा सञ्चार माध्यममा समय–समयमा समाचार सार्वजनिक हुँदै आएका पनि हुन्छन् ।
यही श्रृङ्खलामा सहप्राध्यापकको खुल्ला तथा आन्तरिक एवम् प्रध्यापकको खुल्ला पदमा अनियमित तवरले नियुक्ति दिने प्रयास गरिएको समाचार सार्वजनिक भएको छ । त्रिवि सेवा आयोगद्वारा २०७५ भदौमा आवेदित पदहरूमा आवेदन दिने क्रममा शिक्षा शास्त्र संकायअन्तर्गत अङ्ग्रेजी शिक्षा विषयका प्रेमबहादुर फ्याकले सोही विषयको सहप्राध्यापक खुल्ला र आन्तरिक तथा प्राध्यापक खुल्ला पदमा आवेदन दर्ता गरेपछि उनको आवेदन दर्ता नै अवैधानिक भन्दै सम्बद्ध प्राध्यापकहरूले आवाज उठाएका छन् ।
वि.सं २०६५ सालमा करार सेवामा नियुक्त भएका फ्याक करार सेवामा नियुक्त भएलगत्तै बिदा स्वीकृत नगरी अध्ययनका लागि भन्दै सोही वर्ष बेलायत पुगेका थिए । करार सेवामा रहेका शिक्षण सहायकले अध्ययन बिदा पाउने व्यवस्था त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियमावलीमा उल्लेख नभए पनि उनी निरन्तर ६ महिनाभन्दा बढी अवधि हाजिरविहीन रहेका थिए । तर, आफ्नो पहुँच र प्रभाव प्रयोग गरेर उनी २०६८ सालमा उपप्राध्यापकमा स्थायी नियुक्ति लिन सफल भएका थिए । यसपछि पुनः बिदा स्वीकृत नगरी उनी २०६८ माघ १७ देखि विश्वविद्यालयमा गैरहाजिर रहेका थिए ।
यसैगरी गैरहाजिरीमा परेका कमल देवकोटा कुनैबेला सेवाबाट बेदखल भइ पदमुक्त गरिएका नजीर त्रिविमा रहेको छ । तर, फ्याकको हकमा यस नजीरको नजरअन्दाज गरिएको छ ।
कारबाहीको निम्ति त्रिवि सेवा आयोगका अध्यक्षसमक्ष आवेदन गर्नेहरूले पदोन्नतीका निम्ति फ्याकले त्रिवि सेवा आयोगमा पेश गरेका विभिन्न डिग्रीका प्रमाणपत्रको छायाँकपी तथा बायोडाटासमेत छानबिन गर्नुपर्ने माग गरिएको छ ।
पदोन्नतिका साथै त्रिवि सेवामा स्थायी हुनका लागि फ्याकले प्राज्ञिक मर्यादा उल्लंघन गरी पेस गरेका कागजातहरू शङ्कास्पद रहेको दाबीसहित उनको उम्मेदवारी रद्ध गर्न गरिएको आवेदनको बोधार्थ त्रिविका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्टार र शिक्षाशास्त्र संकायका डीनलाई समेत दिइएको छ । त्रिविका सम्बद्ध अधिकारीहरूले फ्याकको पहुँच र प्रभावमा परेर निर्णय लिने हुन् कि नियमबमोजिम कारवाही गर्ने हुन्, सरोकारवालाबीच यतिखेर यो विषय तीव्र जिज्ञासाको सन्दर्भ बनेको छ ।



लाेकपाटी न्यूज

