काठमाडौं, २२ फागुन । टीकापुर घटनामा दोषी ठहर भएसँगै कैलाली जिल्ला अदालतले गरेको फैसला पछि सांसद रेशम चौधरीको पद खारेज हुने भएको छ ।
बुधबार कैलाली जिल्ला अदालतले राजपाका सांसद रेसम चौधरीलाई जन्मकैदको सजाय सुनाएको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएपछि चौधरीको पद खारेज भएको हो ।
नैतिक पतन देखिने फौजदारी कसूर प्रमाणित भएकोले सांसद पद स्वतः खारेज हुने संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।
अदालतबाट दोषी ठहर भएपछि सांसद नरहने कानूनी व्यवस्था छ । पुर्पक्षका लागि थुनामा रहेका चौधरीले १९ पुसमा सिंहदरबारमा पुगेर सांसद पदको सपथ लिएका थिए । फरार रहेकै अवस्थामा चुनाव लडेर चौधरी कैलाली १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
७ भदौ २०७२ मा कैलालीको टीकापुरमा एक नाबालक सहित सात प्रहरीको हत्या भएको मुद्दामा सांसद चौधरी सहित ५८ जनालाई विपक्षी बनाइएको थियो ।



लाेकपाटी न्यूज

