राहत शिक्षकका समस्या समाधानको पहल गरिदिन मन्त्री बिना मगरलाई आग्रह

Bina magar
लाेकपाटी न्यूज

काठमाडौं, २२ फागुन । सुदुरपश्चिमका राहत तथा बालविकास शिक्षकहरुले बुधबार खानेपानी मन्त्री बिना मगरसँग भेट गरी आफ्ना माग तथा गुनासाहरु सम्बोधन गराउन पहल गर्न ध्यानाकर्षण गराएका छन् ।

देशभरका सामुदायिक विद्यालयका राहत र बालविकास शिक्षकहरू काठमाडौँमा आन्दोलनरत रहेकै बेला उनीहरुले मन्त्री बिना मगरलाई भेटेका हुन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटघाटमा सुदूरपश्चिमका राहत तथा बालविकास शिक्षकहरुको प्रतिनिधिमण्डलले आफूहरुले उठाएका मागहरु सम्बोधन गराउन पहल गर्न खानेपानी मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

उनीहरुले संघीय शिक्षा ऐनले आफूहरुको अधिकार खोसिन लागेको गुनासो गर्दै खानेपानी मन्त्री समक्ष तत्काल वार्ताको वातावरण बनाउन पहल गरिदिन माग गरेका छन् । संघीय शिक्षा ऐनको ड्राफ्टमा स्थायी व्यवस्थापन गर्ने कुनै पनि प्रक्रिया नराखिएको कारण आन्दोलन गर्नुपरेको उनीहरुको भनाई थियो ।

भेटमा खानेपानी मन्त्री मगरले राहत तथा बाल विकास शिक्षकहरुले उठाएका माग प्रति आफू सकारात्मक रहेको प्रतिक्रिया दिइन् । बालबालिकाको भविष्य निर्माणमा बाल विकास शिक्षकहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले सदन र मन्त्रिपरिषद् बैठक समक्ष कुरा राख्ने बताइन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्