काठमाण्डौं, २२ फागुन । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द विप्लव समूहको क्रियाकलापलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा उनले विप्लव समूहले रक्तश्राव गरेर राज्यलाई कमजोर पारिराख्ने सामथ्र्य राख्ने भन्दै बेलैमा त्यसतर्फ सचेत हुन आग्रह गरेका हुन् । विप्लव समूहमा भर्भराउँदो युवाहरु लागेको देख्दा चिन्ता लागेको भन्दै भट्टराईले विकास समृद्धि र सुशासन दिन नसकेमा फेरि आन्दोलनको ज्वाला उठ्न सक्ने बताए ।
‘विप्लव समूहमा भर्भराउँदो खालको युवाहरु खटेको देख्दा बढो चिन्ता लागेर आयो । उनीहरु अत्यन्तै गम्भीर ढंगले लागेका छन्,’ उनले भने, ‘यदि हामीले ठीक ढंगले बेलैमा विकास र समृद्धिको सपना पूरा गर्न सकेनौं र हामीले जनतालाई सुशासन दिन सकेनौं भने त्यो ज्वाला फेरि फर्केर आउने खतरा देख्छु ।’
विप्लवको बाटो ठीक छैन भन्नेमा कुनै भ्रम नभए पनि उनीहरुले राज्य कमजोर पार्न सक्ने बताए । ‘त्यो बाटो ठीक छैन । अहिलेको दिनमा त्यसले कहिँ पनि र्पुयाउँदैन । त्यसमा मलाई कुनै पनि भ्रम छैन’ भट्टराईले भने ‘तर उनीहरुले रक्तश्राव गरेर ब्लिडिङ गरेर यो राज्यलाई कमजोर पारिराख्ने सामथ्र्य राख्छन् ।’
भट्टराईले विप्लव समूहसँगै तराई मधेसमा असन्तुष्ट समूहले पृथकतावादी कुरा लिइरहेको भन्दै त्यसलाई हल गर्न सरकारले बेलैमा सचेत हुनुपर्ने बताए । साथै भट्टराईले सशस्त्र द्वन्द्वकालीन घटनाहरु ‘क्षमा गर र भूल’ भन्ने नीति अपनाउनुपर्ने बताएका छन् । यदि कसैलाई दण्डित नगरी नहुने भए आफूलाई दण्डित गर्न चुनौती दिए । भट्टराईले सत्यनिरुपण र मेलमिलाप तथा बेपत्ता आयोगले फर्गिभ एण्ड फर्गेट अर्थात ‘क्षमा गर र भूल’ को आधारमा काम गर्नुपर्ने बताए ।



लाेकपाटी न्यूज

