ठगी गर्ने १९६ म्यानपावर बन्द

pasinako mulya
लाेकपाटी न्यूज

काठमाडौं। वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई ठग्ने १९६ म्यानपावर कारबाहीमा परेका छन्। रोजगारको प्रलोभन देखाएर विभिन्न देशमा अलपत्र पार्ने म्यानपावर कम्पनीको ईजाजत सरकारले बन्द गरेको हो।

वैदेशिक रोजगारीमा कामदार पठाउउँदा ठगी गर्ने तथा अलपत्र पर्ने नेपालीको संख्या बढ्न थालेपछि सरकारले नियमनमा कडाई गर्न थालेको हो। वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार अर्थिक वर्ष २०६५/६६ पछि ठगी गर्ने १ सय ९६ म्यानपावर कम्पनी बन्द भएका छन्।

पटकपटक कारबाहीमा परेका, कम्पनी दर्ता गरेर नवीकरण समयमा नगर्ने, वैदेशिक रोजगारीमा कामदार पठाएर विदेशमा अलपत्र पार्ने र रोजगारदाता देशमा समस्यामा परेका श्रमिक समयमा उद्धार नगर्ने म्यानपावर कम्पनीको इजाजत नै खारेज गरेको विभागले जनाएको छ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ८० भन्दा बढी म्यानपावर कम्पनी खारेज गरेको विभागको तथ्याङ्कमा उल्लेख छ। विभागले बन्द गरेका म्यानपावर कम्पनीका नाममा कसैले कारोबार गरेको पाइएमा कडा कानूनी कारबाही हुने वैदेशिक रोजगार विभागका महानिर्देशक दिलिप कुमार चापागाइँले बताए।

बन्द म्यानपावरका सञ्चालकलाई अर्को कम्पनी चलाउन पनि प्रतिबन्द लगाएको उनले बताए। ‘राज्यले रोजगारीका नाममा धेरै विकृति मच्चाउने म्यानपावरमाथि निगरानी गरिरहेको छ। वैदेशिक रोजगार ऐन विपरित काम गर्ने म्यानपावरलाई कानूनी कारबाही हुन्छ,’ उनले भने।

कतिपय म्यानपावर कम्पनीले आफूले विभागमा राखेको धरौटीभन्दा धेरै रकम ठगी गरेको उजुरी विभागमा दर्ता भएका छन्। वैदेशिक रोजगार ऐनमा ३ पटकसम्म कामदारलाई ठगी गर्ने म्यानपावर कम्पनीका नाममा दर्जनभन्दा बढी उजुरी पर्ने गरेका छन्। विभागमा चालु आर्थिक वर्षका सात महिनामा व्यक्तिगततर्फका ६ सयभन्दा धेरै मुद्दा दर्ता भएका छन्।

आर्थिक वर्ष शुरु भएको सात महिनाभित्र रोजगारीका नाममा कामदारलाई दुःख दिने र ठूलो आर्थिक ठगी गर्ने १ सयवटा म्यानपावर कम्पनीको कामकारवाही रोक्का गरेर कारवाहीको दायरामा ल्याएको विभागले जानकारी दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्