काठमाडौँ, २१ फागुन । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले विशेष महाधिवेशनका लागि पहल थाल्ने चेतावनी दिएका छन् ।
महासमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले दिएको वचनविपरीत केन्द्रीय कार्यसमितिले विधान पास गरेपछि ५६ जिल्लाका जिल्ला सभापतिहरुले विशेष महाधिवेशनको चेतावनी दिएका हुन् ।
केन्द्रीय समिति सदस्य स्वतः महाधिवेश प्रतिनिधि बन्न पाउने व्यवस्था संशोधन गरेको प्रति उनीहरुले आपत्ति प्रकट गरेका हुन् । तल्लो तहबाट नै प्रतिनिधि भएर आउनुपर्ने व्यवस्था कायम गर्न पनि जिल्ला सभापतिहरुले माग गरेका छन् ।
महासमिति बैठक समापन गर्ने क्रममा पार्टी सभापति देउवाले दुवै माग सम्बोधन गर्ने आश्वासन दिएका थिए । तर, केही दिनअघि केन्द्रीय कार्यसमितिले त्यसविपरीत केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने र आरक्षण कोटामा एउटै व्यक्ति दोहोरिन सक्नेगरी विधान पास गरेको थियो ।
महासमितिबाट पास भएको विषयलाई केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले उल्टाउनु आपत्तिजनक भएको टिप्पणी गरेका छन् । यस्तो खबरले आफूहरुलाई आश्चर्यचकित तुल्याएको उनीहरुको विज्ञप्तिमा उल्लेख छ ।
‘पार्टी केन्द्रीय कार्यालयको सचिवालयमा औपचारिक रुपमै दर्ता भएको महासमिति सदस्यहरुको हस्ताक्षरलाई बेवास्ता गरी संशोधन प्रस्ताव नै नआएको जस्ता गलत प्रचारबाजीमा उत्रनु अझै हास्यास्पद हो,’ विज्ञप्तिमा भनिएको छ ।
जिल्ला सभापतिहरुले महासमितिबाट पास भएको विषय केन्द्रीय समितिले उल्टाएको भन्दै आश्चर्य व्यक्त गरेका छन् । ‘महासमितिभन्दा ठूलो केन्द्रीय कार्य समिति हुन सक्दैन भन्ने कुरालाई पूर्णतः उपेक्षा गरी पार्टी सभापतिजस्तो गरिमामय पदको विश्वसनीयता समेत समाप्त गर्ने काममा केही नेताहरु देखापर्नु दुर्भाग्यपूर्ण हो’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।
केन्द्रीय कार्यसमितिको निर्णय पुनर्विचार नगरिए विशेष महाधिवेशनका लागिसमेत पहल गर्न बाध्य हुने उनीहरुको चेतावनी छ ।



लाेकपाटी न्यूज

