पर्सा, २१ फागुन । विन्दवासिनी गाउँपालिकास्थित अमरपट्टी टोल, मधुवल टोल तथा सिस्वा दशगजा क्षेत्रमा अवैध रुपमा सञ्चालन गरिएको ६ वटा घरेलु मदिरा भट्टीबाट ५५ लिटर तयारी मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ करिब २ हजार १ सय ७५ लिटर आइतबार बिहान प्रहरीले बरामद गरी नष्ट गरेको छ ।
प्रहरी चौकी अमरपट्टी पर्साबाट खटिएको प्रहरी टोलीले उक्त घरेलु मदिरा भट्टी तथा मदिरा बरामद गरी नष्ट गरेको हो ।
यसैगरी पर्सा, छिपरमाई गाउँपालिका–७ र पकाहामैनपुर गाउँपालिका–५ पोखरीयास्थित सिक्टा नदीको किनारमा अवैध रुपमा सञ्चालन गरिएको मदिरा भट्टी तथा ५ सय लिटर तयारी मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ अन्दाजी ७ लिटर आइतबार साँझ प्रहरीले बरामद गरी नष्ट गरेको छ ।
प्रहरी चौकी भिष्वा र प्रहरी चौकी सबैठवाबाट संयुक्त रुपमा खटिएको प्रहरीले उक्त भट्टी तथा मदिरा नष्ट गरेको हो ।
दुवै स्थानमा स्थानीय भद्रभलादमी तथा संचारकर्मीहरुको रोहवरमा प्रहरीले भट्टी तथा मदिरा नष्ट गरेको बताइएको छ ।



लाेकपाटी न्यूज

