बाबा बस्नेत
एका–दुई मत मतान्तर हुनु मानव समाजको स्वाभाविक प्रक्रिया हो। तर, एउटा स्वप्नदर्शी नेतृत्वलाई राजनीतिभन्दा बाहिरबाट आक्रमण गर्ने काम त्यसैले गर्दछ, जोसँग जनतासँग जाने कुनै एजेण्डा र कार्यक्रम हुँदैन। अर्कोतिर जुन व्यक्ति जति गुणी, शक्तिशाली र बौद्धिक रुपले स्थापित छ, त्यति नै आक्रमण त्यो व्यक्ति र नेतृत्वमाथि हुने गर्दछ, यो विश्वव्यापी मान्यता नै हो।
लोकतन्त्रमा जनताबाट माथि उठेर जनताकै लागि शासन गर्न मन, वचन र कर्मले जनहित नै सोचिरहने व्यक्ति मात्रै नेतृत्व पङ्क्तिमा उभिन लायक हुन्छ। जो अहंकार, अज्ञान र स्वार्थबाट माथि उठ्न सक्दैन, ऊ नेतृत्व पङ्क्तिमा आउन सक्दैन, आए पनि टिक्न सक्दैन। नेतृत्व भनेको धेरैको विश्वास बिसाउने थलो हो। दुनियामा राज्यसत्ताको उत्पतिको इतिहासदेखि आजसम्म धेरै नेता जन्मिए। सबैलाई दुनियाले देखे। राम्राले राम्रै गरे, नराम्राले नराम्रै गरे। तर, लोकतन्त्रको जड कुरो जनताको सम्प्रभुता हो।
जनताले नै सम्प्रभु र ताकतवर हुन्छन्, उनीहरुकै हित, कल्याण र आकाङ्क्षा बोक्नेहरुले मात्र जनताको आदेश शिरोधार्य गरी नेतृत्वको सिंहासनमा आफूलाई स्थापित गर्छन्। जसले गर्दैनन्, ती विस्थापित भएर जान्छन्। नकारात्मक, खडेरीमा खडा भएका राजनीतिक सिर्जना र स्थापनाहरु टिकाउ र दीर्घकालीन हुँदैनन्। आफ्नो स्वार्थले अरुलाई बजाएर अरुकै पिठ्यूँमा चढी स्थापना गर्न खोजिएका कुनै व्यवस्था आजसम्म संसारमा टिकेको इतिहास छैन। हिटलर, मुसोलोनी, इदि, अमिन, चाउचेश्क, कर्णेल गद्दाफी, सदाम हुसेन आदिले स्वार्थ पोषणमा आधारित राजनीति गरेकै कारण टिकाउ नभएका हुन्। जनता नै ईश्वरीय रुप भएकाले राम्रो नराम्रो इष्ट दुष्ट सबै हुन्छन्। तर, जो दुष्टमाथि, स्वार्थ, लोभ र भयमाथि, शोषण र दमनमाथि, अन्याय र अत्याचारमाथि बिस्तारै आफ्नो विजय प्राप्त गर्दै अघि बढ्न सक्छ, त्यो मात्र वास्तविक नेता हुन्छ।
आज हामी विश्वका जति पनि शिखर नेताको इतिहास पढ्छौँ, उनीहरुका उदाहरणहरु देख्छौ, ती सबै आत्मविजयी व्यक्ति नै थिए। अब्राहम लिङ्कन, महात्मा, गान्धी, माओ लेनिन, फिडेल क्यास्ट्रो, मार्टिन लुथर किङ, नेल्सन मण्डेला आदि। एउटा सच्चा नेता त्यो मात्र बन्न सक्छ, जो अर्जुनवाणले चराको आँखालाई मात्र देखेझैँ आफ्नो लक्ष्य र नेतृत्वको आफ्नो दर्शनलाई देख्न सक्छ। गान्धीले त्यसै गरे, लिङ्कनले त्यसै गरे, मण्डेलाले पनि त्यसै गरे। संसारका भयङ्कर दुख पीडा र दर्दहरु यस्ता व्यक्तिहरुका निम्ति तुच्छ बन्छन्। यस्ता व्यक्तिहरु मन, वचन र कर्ममा प्रतिवद्ध हुन्छन्। जस्तोसुकै आपत आइलाग्दा पनि आफ्नो लक्ष्य र दर्शनमा व्यवधानहरुसँग सम्झौता गर्दैनन्। त्यही उनीहरुको जीवनको त्याग र तपस्या हो। त्यसले उनीहरुलाई माथि–माथि उठाउँदै लैजान्छ।
सरल र निष्कपट बन्नसके नेताको उचाइ अझ अग्लिँदै जान्छ। जो सबैभन्दा सरल हुन्छ, त्यही सबैभन्दा जटिल हुन्छ। जसले संसारसामू आफ्नो सम्पूर्ण जीवनलाई खुल्ला किताब जस्तो राखिदिन्छ, उसले नै संसारका सबै रहस्यहरु लुकाइराख्ने क्षमता पनि राख्दछ।
पुष्पकमल दाहाल अर्थात् प्रचण्ड त्यसैले राजनेता बने। उनले हर समय हरपल आफ्ना क्रियाकलापलाई खुला राखिदिए। उनले आफूभित्र कुनै चीज यसरी लुकाई राख्नसके, कुन शक्ति लुकाई राख्नसके, जसको नेतृत्व गर्दा कहिले ढल्न नसक्ने भनिएको शाहवंशीय राजतन्त्र ढल्न पुग्यो। एउटा साधारण जनताको छोराको नेतृत्वले गर्दा गणतन्त्र र लोकतन्त्रको स्थापना हुन पुग्यो। कुन तागत थियो त आखिर प्रचण्ड नेतृत्वसँग ?
संसार एउटा स्थापित सिलसिला हो। यो कालभेद र रुपभेदले समयका हरेक शाखाहरुमा एउटै शैली बन्दै जान्छ। त्यसैले इतिहासलाई हेर्नु, बुझ्नु र जान्नु अति जरुरी हुन्छ मान्छेका लागि किनभने इतिहासमा कतिपय कुराहरु हेरेर वर्तमानलाई ठोकठाक गरेर अभिष्ट भविष्यतर्फ मोड्ने कला मान्छेले सिक्न सक्छ। यही उपाय उपयोगी सिद्ध हुन्छ हरेक युगका मान्छेलाई। यसमा पनि सचेत मान्छेका लागि केही न केही मुश्किलको सामना त गर्नुपर्ने नै हुन्छ।
इतिहासलाई सबै युगका राजा, महाराजा, नेता, उपनेताहरुले आफ्ना आफ्ना भाटहरु लगाएर आफ्नै प्रशस्ती लगाई पानाहरु भरिदिन्छन्। अनि महल, हवेली र दरबारका मात्र इतिहास लेखिदिन्छन्। इतिहासले कुनै युगका झुपडीहरुलाई पनि खासै टिपेको पाइँदैन। कुनै पनि युगका श्रमजिवीहरुले यथार्थ खासै टिपेको पाइँदैन। कुनै पनि युगका श्रमजिवीहरुको यथार्थ इतिहास समयको त्यही परिवेशसँगै मासिँदै आएको छ अहिलेसम्म। मिथक इतिहासमा सबैले यस्तो अन्याय गरिआएकै छन्। भगवान मानिएका रामको मिथकीय इतिहास निर्माण हुन्छ। तर, उनको राज्यभित्रका मजदुर, कृषक, दास–दासी, सेवक, हले–कोदाले कतै प्रसङ्गमा आउँदैनन्। घोडा स्याहार्ने सइस, रामसीताले गोरस खाने वस्तुहरुको भकारा सोर्ने, घाँस काट्नेहरुको प्रसङ्ग पनि आउँदैन। धोबीको प्रसङ्ग केवल सीताको सतीत्वमाथि प्रश्न उठाइदिँदा आउँछ। तर, पनि मिथकीय युगकोे सर्वोत्कृष्ट शासन भनेर रामराज्य एक आदर्श राज्य थियो पनि प्रस्तुत गरिन्छ। इतिहासकालमा पनि यस्तै भएको छ।
भाटले शासकको प्रशस्ती लेखिदिनुलाई नै हामीले अहिलेसम्म इतिहास मान्दै आएका छौं। रावणलाई मिथकीय इतिहासले अन्याय गरको छ। उसको विद्धतालाई छोपछाप पारेर उसको एउटा राक्षसी चित्रमात्र प्रस्तुत गरेको छ मिथक इतिहासले। त्यस्तो होइन, रावण राम जत्तिकै व्यक्तित्व हो। राम–रावण युद्धको उपविजेता हो रावण। उपविजेता भनेको हरुवा भनेको होइन। द्वन्द्वमा एउटाले जित्नु र अर्कोले हार्नुपर्छ नै। दुई बराबरी योद्धाहरुको द्वन्द्वमा दुवैले त कहाँ जित्छन् र ?
नेकपाका अध्यक्ष प्रचण्ड नेतृत्वले सङ्घर्षशील श्रमजिवीहरुको पनि स्पष्ट इतिहास लेख्ने काम गरेका छन् । यसैको परिणाममा उत्पीडित वर्ग, जाति, लिङ्ग र समुदायका छोराछोरी राष्ट्रपति भए, उपराष्ट्रपति भए, सभामूख भए, राज्यको नीति निर्माणको थलोमा पुगे। प्रचण्डको इतिहास निर्माणमा पनि जनताका छोराछोरीको उत्तिकै योगदान छ। यो एक–अर्कामा अन्तरसम्बन्धि कुरा हो। यथार्थ कतिपयलाई पाच्य नहुन पनि सक्ला। तर, हामीमा कालिदास मूर्खता पनि छ। हामीकहाँ सकारात्मक सोचको महामारीले पनि स्थान सताएको छ। हामी सजिलैसँग हरेक दोष अरुमाथि खन्याइदिन्छौं। हाम्रो हेर्ने नजर र दृष्टि नै नकरात्मक बन्दै गइरहेका छन्। हाम्रो सोचाइमा दरिद्रता बढ्दैछ। जबसम्म हामी मनको यो दरिद्रतालाई निर्मुल पार्दैनौं, तबसम्म तनको वतनको दरिद्रता हट्दैन।
नेपाली समाज वर्तमान अवस्थासम्म आइपुग्दा पनि यही परिवेशको सेरोफेरोमा घुमिरहेको छ। जबसम्म समाजको हर सतहमा आफू आफैँले जिम्मेवारी लिन सक्दैनौं, आफ्नो दोष र कमजोरीहरुको आत्मनिरीक्षण गरेर त्यसको उचित निराकरणका पाइला चाल्दैनौं, जब हामीले आफ्नो घर आफैँ बनाउँदैनौं, आफ्नो गाउँ, समाज र राज्य आफैँ बनाउँदैनौं। जबसम्म हामीले हाम्रा स्वार्थलोलुपता र व्यक्तिकेन्द्रियताबाट उठेर गाउँ, समाज र देशप्रतिको आफ्नो कर्तव्यमा सचेत हुँदैनौं, तबसम्म हामी पछौटे नै रहन्छौं। हाम्रो खेत हामी आफैँ रोप्नुपर्छ।
हाम्रो देश परचक्रीले आएर बनाइदिँदैन, हामी आफैँले बनाउनुपर्छ भन्ने कर्तव्यचेत जन–जनमा जागृत गराउने ‘प्रचण्ड राजनीति’को मुलमन्त्र नै रहिआएको छ। नेताहरुको नीजि जीवन तिनका अनुयायी जनताका निम्ति आदर्श र उदाहरण हुने गर्दछ। यस संवेदनशील क्षेत्रमा प्रचण्डको निजी छवि छ। सत्यसमान महान यदि अरु केही छ भने त्यसकै प्रतिभुति शपथ लिएर आम नेपालीले बोल्न सक्छन्। अनि प्रचण्डको ऐतिहासिक योगदान र चरित्रको चर्चाले नेपालीको शिर खडा हुन्छ, झुक्दैन। किनकि प्रचण्डले आफ्नो कट्टर राजनीतिक शत्रु नै किन नहुन्, आफ्नो कडा आलोचक नै किन नहुन्, सबैलाई खुल्ला पुस्तक बनेर राजनीतिक उपचार गरेर बचाएको यथार्थ हाम्रोसामू ताजै छ। स्पष्ट रुपमा भन्नुपर्दा उदारता र दया प्रचण्डको स्वभाव होइन, प्रकृति हो। यदि त्यसो नभए अहिलेका राजनीतिक घटनाक्रमको विकास सम्भव थिएन भनेर किटानीका साथ भन्न सकिन्छ।
यसमा कुनै गल्ती वा भ्रम छैन, यो यथार्थ हो। आलोचना वा समालोचना सहन सक्ने शक्तिलाई थुप्रै दार्शनिकहरुले भिन्न भिन्न रुपले पेश गरेका छन्। बौद्ध दर्शनको परिभाषा दिँदै जवाहरलाल नेहरुले ‘डिस्कवरी अफ इण्डिया’मा संसारदेखि विरक्त होइन, अशक्त भनेका छन्। सोही किसिमको चरित्र विकास भएपछि मात्र समाजमा परिवर्तन आउने गर्दछ। एउटा प्रमाण यो प्रचण्डको राजनीतिक चरित्रमा पाइएको छ। वास्तवमै नेपाली समाजको विषम परिस्थितिलाई बदलेर उनी मानवतामूखी बनाउने कोशिसमा छन्। उनलाई जस्तोसुकै आरोप लगाइए पनि उनले त्यसलाई सहजीकरण गर्दै नजरअन्दाज गर्दै आएका छन्।
जसले संसारलाई समग्रताको सापेक्षमा हेर्छ, उसले मात्र जीवन र जगतलाई बुझ्दछ। जीवन र जगतलाई बुझेर जसले आफ्नो जीवनको उर्जालाई आफ्नो वरिपरिका विसङ्गति विरुद्ध द्धन्द्धमा उत्रेर सारा विसङ्गतिलाई सही दिशा दिन आफ्नो जीवनका हरेक अमूल्य क्षणहरु खर्चिन्छ, उसैले आफू मान्छे हुनुको सदुपयोगिता प्रमाणित गर्छ। त्यस्ता मान्छेहरुका मनबाट उब्जेका विचारहरुले घन विद्युतीय छालमा सम्प्रेषित भएर आफ्नो व्यक्तित्व वरिपरि चुम्बकीय आभाषको निर्माण गर्दछन्। जसले गर्दा उसको व्यक्तित्व आकर्षक बन्छ। उसका वरिपरि मानिसहरु धुव्रीकृत हुन्छन्।
राजनीतिक उतारचढावको पछिल्लो अवस्थामा प्रचण्ड नेपाली जनताका एक भरोसायोग्य राजनेताका रुपमा स्थापित हुन पुगेका छन्। राष्ट्रियता र सार्वभौम राष्ट्रका सवालमा चट्टाने अडान राख्दै छिमेकी राष्ट्रको ‘एस–म्यान’ नबन्ने जुन उद्घोष उनले गरेका छन्, त्यसले उनको त्याग र तपस्याको गुरुत्वलाई प्रतिविम्बित गर्दछ।
हुन त जुन व्यक्ति जति गुणी, शक्तिशाली र बौद्धिक रुपले स्थापित छ, त्यति नै आक्रमण त्यस व्यक्ति वा नेतृत्वमाथि हुने गर्दछ। यो स्वाभाविक यथार्थ उनीमाथि विभिन्न कोणबाट आक्रमण भइरहेको जग ेजाहेर नै छ। यद्यपि, उनी जस्तोसुकै आक्रमणबाट पनि विचलित नहुनु एउटा आश्चर्य हो। भनिन्छ, ‘व्यक्तिको मूल्याङ्कन गर्न प्रशासकको मूल्याङ्कनभन्दा कता हो कता कठिन हुन्छ।’ व्यक्ति एउटा अस्तित्व हो, जीवन्त या मृत। असंख्य व्यक्ति जीवित भएर पनि मृत छन्, अति कम छन्, जो मृत भएर पनि मानिसहरुको घटघटमा उपस्थित छन्। एक चिन्तकले मलाई भनेका छन्, ‘एउटा व्यक्ति त्यो नै विशाल कार्य हुन्छ, जति बहुत उसको निर्णय हुने गर्दछ।’
व्यक्ति अमर हुँदैन, विचार अमर हुन्छ। बेला बेलामा समाजले वैचारिक आन्दोलन चाहन्छ। नेपाललाई प्रचण्डले दिन चाहेको वैचारिक आन्दोलन अहिले पराकाष्ठामा पुगेको छैन। यसले चरम बिन्दु पार गरेपछि देशले कोल्टे फेर्ने छ नै। यात्राका आफ्ना सहयात्रीहरु आफूसितै रहे यात्रा सरल र सुदृढ हुने दरो सम्भाव्य छँदै थियो।
तर, जे भए पनि नयाँ शिरा र कोणबाट अविचलित निरुत्तर अघि बढिरहने छन् उनी। प्रचण्ड राजनीति मिसनले ढिलो चाँडो मूर्त रुप लिने छ नै। त्यसका लागि परिवर्तनका यात्रीहरुको साथ जरुरी छ।



लाेकपाटी न्यूज

