काठमाडौं, २१ फागुन । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध ५६ जिल्लाका सभापतिहरु रुष्ट बनेका छन् । महासमिति बैठकबाट पास भैसकेको विषयलाई केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले उल्टाएपछि ५६ जिल्लाका सभापतिहरु आक्रोषित बनेका हुन् ।
कांग्रेसको २०७५ पुष २९ गते देखि माघ ९ गते सम्म काठमाडौंमा सम्पन्न महासमिति बैठकमा सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले अधिकांश महासमिति सदस्यहरुको प्रस्ताव अनुसार विधानमा उल्लेखित स्वतः प्रतिनिधि सम्बन्धि प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्ति लाई दोहोर्याएर अबसर नदिने सम्बन्धि व्यवस्था थप गर्ने सम्बन्धमा एक्यवध्दता जनाएका थिए ।
महासमिति भन्दा ठुलो केन्द्रीय कार्य समिति हुन सक्दैन भन्ने कुरालाई उपेक्षा गरी पार्टी सभापति जस्तो गरिमामय पदको विश्वसनीयता समेत समाप्त गर्ने काममा केहि नेताहरु देखा पर्नु दुर्भाग्यपूर्ण रहेको सभापतिहरुको भनाइ छ ।
‘उक्त दुई विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालयको सचिवालयमा औपचारिक रुपमै दर्ता भएको दर्ता नम्बर ९३ महासमिति सदस्यहरुको हस्ताक्षरलाई वेवास्ता गरी संसोधन प्रस्ताव नै नआएको जस्ता गलत प्रचारबाजीमा उत्रनु अझै हास्यास्पद छ । महासमिति बैठक र यसको निर्णयबाट उत्साहित भएका आम पार्टी सदस्यहरुलाई केन्द्रीय समितिको पछिल्लो निर्णयले निरास बनाएको छ । पार्टी संगठन र पार्टी नेतृत्वको विश्वसनीयतालाई गम्भीर क्षति पुर्याउने उक्त निर्णय माथि शिघ्र पूनर्विचार गर्न जोडदार माग गर्दछौ । अन्यथा बिशेष महाधिवेशनका लागि समेत पहल गर्न बाध्य हुनेछौँ’ जिल्ला सभापतिहरुद्धारा जारी विज्ञप्तीमाउल्लेख छ ।



लाेकपाटी न्यूज

