पोखरामा प्याराग्लाइडिङ उडान बन्द हुने

paraglaiding
लाेकपाटी न्यूज

पोखरा , २१ फागुन । पोखरामा बुधबारदेखि प्याराग्लाइडिङ उडान बन्द हुने भएको छ । पोखरा महानगरपालिकाले ‘कर नतिरेको’भन्दै बुधबारदेखि प्याराग्लाइडिङ उडान बन्द गर्ने लागेको हो ।

पोखराको आकासमा दिनदिनै प्याराग्लाइडिङ दुर्घटना बढीरहेका बेला महानगरले यस्तो निर्णय गरेको छ । ‘हामीले भोलि अर्थात फागुन २२ गतेदेखि पोखरामा हुने सबै अवैध उडानहरु बन्द गर्ने निर्णय गरेका छौँ’, पोखरा महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रणबहादुर थापाले भने, ‘करको दायरामा नआउनेहरुले उडान भर्न पाउँदैनन्।’

पोखरा महानगरको वडा नम्बर १८ मा पर्ने सराङकोट प्याराग्लाइडिङ उडानको प्रमुख थलो हो ।पोखरा महानगरको नगर परिषदले आर्थिक वर्ष २०७५÷०७६ को लागि प्रत्येक प्याराग्लाइडिङ कम्पनीबाट २५ हजार वार्षिक शुल्क लिने निर्णय गरेको थियो ।

यस्तै गण्डकी प्रदेश सरकारले पनि प्याराग्लाइडिङ कम्पनीलाई करको दायरामा ल्याउने भन्दै वार्षिक एक लाख रुपैयाँ शूल्क कायम गरेको थियो । प्रदेश सरकारले शूल्क उठाउने जिम्मेवारी भने स्थानीय सरकारलाई नै सुम्पेको छ।

प्रदेश र स्थानीय सरकार दुबैले तोकेको शूल्कको रकम करिब एक लाख ८६ हजार हुन आउँछ । आफूहरु दोहोरो शुल्कमा परेको भन्दै व्यवसायीहरुले कर तिर्न आनाकानी गर्दै आइरहेका छन्। पोखरामा ६० भन्दा बढी प्याराग्लाइडिङ कम्पनीले व्यावसायिक उडान भर्दै आएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्