इमरानले किन ठाने नोबेल पुरस्कारका लागि अयोग्य ?

लाेकपाटी न्यूज

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नोबेल शान्ति पुरस्कार पाउन आफु योग्य नभएको बताएका छन् ।

इमरानले ट्विटरमा लेखेका छन्, म नोबेल शान्ति पुरस्कार पाउन योग्य छैन । त्यसका लागि योग्य त्यो हुनेछ जसले कश्मीरी जनताको इच्छाअनुसार कश्मीर विवादको अन्त्य गराउनेछ र यो उपमहाद्वीपमा शान्ति एवम् मानव विकासका लागि मार्ग प्रशस्त गर्नेछ ।

पाकिस्तानले नियन्त्रणमा लिएको भारतीय वायुसेनाका पाइलट अभिनन्दन वर्तमानलाई उनको देश फिर्ता पठाएपछि इमरानलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने पक्षमा अभियान चलाइएको छ । अभियान चलाउनेहरूले इमरानले भारतसँग युद्धको सम्भावनालाई टारे, जुन क्षेत्रीय शान्तिको दिशामा ठूलो कदम हो भन्ने तर्क राखेका छन् ।

पाकिस्तानमा कैयौँले आफ्ना प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने पक्षमा अनलाइन हस्ताक्षर अभियान शुरू गरेका छन्। जसमा तीन लाखभन्दा बढी मानिसले हस्ताक्षर गरिसकेका छन्।

पाकिस्तान र भारत दुवै परमाणु शक्ति सम्पन्न मुलुक हुन्। भारत प्रशासित कश्मीरको पुलवामामा भएको आतंकवादी हमलामा ४० जना भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच तनाव शुरू भएको हो ।

त्यसको बदलामा भारतले पाकिस्तानको बालाकोटमा हवाई हमला गरेपछि पाकिस्तानले जवाफी कारबाहीमा भारतको एउटा लडाकु विमान खसालिदिएको थियो र एकजना उसका पाइलटलाई नियन्त्रणमा लिएको थियो । तर, भारतीय पाइलटलाई शान्तिको कदम स्वरूप उनको देशलाई सुम्पने इमरानको घोषणाले निकै प्रशंसा पाएको छ ।