काठमाडौं। पतिबाट पीडित भएका महिलाका लागि विभिन्न आश्रय दिएर राखेको खबर त हामीले बिरलै मात्रामा पाएका थियौँ। तर, भारतमा भने पत्नी पीडित पुरुषहरुका लागि समेत आश्रय स्थापना भएको छ।
महाराष्ट्रको औरंगाबाट १२ किलोमिटर टाढा शिरडी मुम्बई हाइवे छेउमा यो आश्रम रहेको छ। आश्रयभित्र थर्मोकोलबाट एउटा ठूलो आकारमा निर्माण गरिएको कागको आकृतिलाई हरेक बिहान तथा बेलुका पूजा गरिने गरिन्छ।
पीडितहरुको मान्यता अनुसार पोथी काग फूल पारेर उडेर जान्छ। तर, भाले काग बच्चाको पालन पोषण र फूलको हेरचाह गर्ने भएकाले यस्तै अवस्था पत्नी पीडित पुरुषहरुको हुने भन्दै उनीहरुले कागको मूर्तिमा पूजा गर्ने गरेका हुन्। भारतका फुलारे नामका व्यक्तिले आश्रमको स्थापना गरेका हुन्।
उनकी पत्नीले उनीमाथि घरेलु हिंसा गरेको भन्दै मुद्दा दर्ता गरेकी थिइन्। पत्नीबाट पीडित उनीजस्तै ४ जना साथीसँग मिलेर सन् १९१६ को पुरुष पीडित दिवसको दिन आश्रमको सुरुवात गरिएको हो । आश्रममा ३ वटा कोठा रहेका छन्। आश्रममा बस्ने मानिस सामूहिक रुपमा बस्छन् र आफ्नो खाना आफै बनाउँछन्।
सल्लाह लिन आउने हरेक मानिसलाई खिचडी बनाएर खुवाइन्छ। उक्त आश्रममा पत्नी पीडित पुरुषहरुलाई आश्रय दिनुका साथै कानूनी लडाई लड्नका लागि समेत सल्लाह सुझाव दिइन्छ। हरेक शनिबार र आइतबार पत्नी पीडितहरुलाई परामर्श सेवा दिइन्छ।
यो आश्रममा सुरुमा केवल नजिकका शहरका पुरुषहरु आउने गरेका भए पनि अहिले छत्तीसगढ, गुजराँत, कर्नाटक, आन्ध्र प्रदेश लगायतका राज्यमा मानिसहरु पनि आउने गरेका छन्। यो आश्रममा बस्ने योग्यताका लागि पत्नी पीडितहरुका केही मापदण्ड तोकिएको छ।
मापदण्डमा पत्नीद्वारा कम्तिमा २० मुद्दा दायर भएका, पत्नीले मुद्दा हालेपछि नोकरी गुमाएका, पत्नीलाई मानाचामल भर्न नसक्दा जेल परेर छुटेका, अर्को बिहे गर्ने मन नभएका र आफ्नो योग्यता अनुसारको काम गर्ने जाँगर भएका पुरुषहरुले मात्र यो आश्रममा बस्ने ठाउँ पाउँछन्।



लाेकपाटी न्यूज

