विप्लवका अतिवादी गतिविधि नियन्त्रण गर्छौं : प्रचण्ड

prachanda-2
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समूहका गतिविधि अतिवादी दिशामा रहेको र त्यसलाई नियन्त्रण गरिने बताएका छन् ।

सोमबार दिउँसो विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘हामी गणतन्त्रमा छौं। हजारौंले रगत बगाएर ल्याएको संविधानका विरुद्ध कोही लाग्छ भने त्यसलाई नियन्त्रण गरिन्छ। उहाँहरुसँग राजनीतिक सहमतिको प्रयास पनि गरिएको हो। त्यो सम्भव नभए अर्को बाटो रोज्छौं।’

प्रचण्डले विप्लव माओवादीका गतिविधिलाई अतिवादको संज्ञा दिए। उनले भने, ‘यो अतिवाद हो। अतिवादको नियन्त्रण राज्यले गर्छ । हामी राजनीतिक प्रयास गर्छौं। राजनीतिक रुपमा समाधान नभए प्रशासनिक बिकल्प पनि छ। यसलाई राज्यले गम्भिर रुपमा लिनुपर्छ।’

‘हामी हतियार बुझाएको होइन, व्यवस्थापन गरेका हौं’ सेना तथा हतियार समायोजन र व्यवस्थापनबारे उनले भने, ‘सेना समायोजन गरिएको हो। हामीले त्यतिबेलै केही हतियार चोरी भएको राज्यलाई रिपोर्ट गरेका थियौं। कसैले लुकाएर राखेको छ भने त्यसको नियन्त्रण गर्ने जिम्मा राज्यको हो।’

उनले पार्टी एकताको अन्तिम प्रस्ताव तयार हुन लागेको र केही दिनमै पार्टी एकता टुंगिने बताएका छन्। ‘हामी पार्टी एकताको अन्तिम तयारीमा छौं। प्रदेश समितिको त अन्तिम प्रस्ताव नै तयार भइसकेको छ। बाँकी काम पनि हामी छिट्टै सक्छौं। बीचमा हामी शोकमा भयौं, अब एकताले गति लिन्छ।’

प्रचण्डले मन्त्रीमण्डल हेरफेरबारे पार्टी र २ अध्यक्षबीच कुनै छलफल नभएको बताए। उनले भने, ‘मन्त्रीमण्डल हेरफेरबारे मूख्य कुरा प्रधानमन्त्री नै जान्नुहुन्छ। सरकारका काम कति प्रभावकारी भए, भएनन्, समीक्षा गर्नुभएकै होला। तर, हाम्रो अहिले मन्त्री फेर्नेबारे कुनै कुरा भएको छैन। यो मीडियामा आएको बहसको कुरा मात्र हो, यो एजेण्डामा हामी प्रवेश नै गरेका छैनौं।’

उनले राजपालाई सरकारमा ल्याउनेबारे कुनै कुराकानी नभएको बताए। ‘राजपालाई सरकारमा ल्याउनेबारे खास कुरा भएको छैन’ प्रचण्डले भने, ‘उहाँहरु तत्काल सरकारमा आउने र सरकारलाई दिएको समर्थन फिर्ता गर्ने दुवै अवस्था छ जस्तो लाग्दैन।’ उपेन्द्र यादवसँग गरिएको ३ बुंदे सहमतिअनुसार नै संविधान संशोधनको प्रक्रिया अघि बढेको प्रचण्डले जानकारी दिए।

पार्टी एकता रोक्ने कुनै पनि प्रयास सफल नहुने प्रचण्डले बताए। उनले भने, ‘हिजो संविधान बन्न नदिन, संविधान कार्यान्वयन हुन नदिन, निर्वाचन हुन नदिन, वाम गठबन्धन हुन नदिन पनि ठूलै दवाव थियो। तर, हामीले त्यसको सामना ग¥यौं। अहिले पनि हाम्रो बीचमा खेल्न खोज्ने प्रयास छ। तर, हामी त्यसलाई सफल हुन दिँदैनौं।’

‘ओलीजी र म मिलेर सबै अप्ठ्याराहरुको समाधान निकाल्ने कोशिसमा छौं’ प्रचण्डले भने, ‘समृद्धि र विकासको चाहना अब कसैले रोक्न सक्दैन। हामी मिलेर त्यो प्रवृत्ति पराजित गर्छौं। २ अध्यक्षबीच फाटो ल्याउने कोशिस सफल हुँदैन। हामी पार्टी एक गराइछोड्छौं, विकास र समृद्धिको संकल्पमा अघि बढ्छौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्