काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर काँग्रेसभित्र चर्को विवाद खडा भएको छ । देउवाले प्रकाशशरण महत जस्ता केही अराजनीतिक व्यक्तिलाई बोकेर हिंडेको आरोप लगाउँदै चर्को विवाद भएको हो ।
देउवाको कार्यशैली विरुद्ध रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला तथा पार्टीका महामन्त्री शशांक कोइराला समेत रुष्ट भएका छन् । पार्टी संस्थागत तवरले नचलाएको, विगतमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालले जस्तै ज्यादती गरेको देउवाका आलोचकहरुको भनाइ छ ।
विगतमा आफूले संस्थापन पक्षबाट भोग्नु परेको जस्तै अहिले संस्थापन भएपछि अरुलाई गरिएको भन्दै देउवाको आलोचना भइ पार्टी बैठक समेत नै बहिस्कार हुँदै आएको छ । रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत अन्य नेताले बैठक बहिस्कार गरेपछि देउवाले अन्तिम समयमा आएर केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरे ।
पछिल्लो पटक काँग्रेसभित्रको झगडाको बाहिर देखाउने कारण नेपाल विद्यार्थी संघको विवाद देखएिपनि भित्र भने आगामी महाधिवेशनबाट नेतृत्व हत्याउने एजेण्डा नै हो । पार्टी सभापतिमात्रै होइन महामन्त्री पनि एक अर्काप्रति आरोप प्रत्यारोपमा उत्रिएका छन् । एउटाले हैसियत नभएको बताएको छ भने अर्कोले काँग्रेस कोइराला परिवारको पेवा नभएको बताएको छ ।
देउवाले आगामी एक कार्यकाल समेत सभापति बन्ने इच्छा राखेको उनका निकट नेताहरुको भनाइ छ । तर देउवाको उक्त इच्छा पूरा हुन नदिने योजनामा कोइराला खलक लागेको छ । सुजाता जोस्टदेखि शेखर, शशांकको गठबन्धन बनेको छ । कोइराला परिवारको विरासतमा काँग्रेसलाई अगाडि बढाउने भन्दै यो समूहले आगामी महाधिवेशनमा देउवा विरुद्धको मोर्चा खडा गर्ने बताएको छ ।
देउवाविरुद्ध कोइराला परिवारको मोर्चा खडा गर्दा सबैभन्दा बढी समस्या रामचन्द्र पौडेल हुने भएको छ । कहिल्यै पार्टी सभापति समेत बन्न नपाउने नेताको रुपमा उनको नाम दर्ज हुने सम्भावना बलियो छ ।
प्रधानमन्त्रीमा १७ पटक निर्वाचन हारेको रेकर्ड राखेका पौडेल सभापति नै हुन नपाई काँग्रेसबाट पलायन हुनुपर्ने बाध्यता आइलागेको छ । कोइराला परिवार काँग्रेसको नेतृत्व आफूहरुले अगाडि बढाउने भन्दै देशव्यापी रुपमा अगाडि बढेको, पौडेलको पक्षमा कोही पनि नभएको तथा देउवाको आफ्नै समूह रहेको अवस्थामा सबैभन्दा मर्कामा उनै पौडेल पर्नेवाला छन् । पौडेललाई साथ दिन कुनै पनि नेता सतहमा देखिनै छैनन् ।
कुनै पनि राजनीतिक अडान नभएका र कुनै पनि क्षमता र राजनीतिक रुपमा योग्यता समेत नभएका पौडेललाई साथ दिएर राजनीतिक करियर सिध्याउने पक्षमा कोही पनि छैनन् । राजनीतिमा एउटा आशावाद हुन्छ, तर पौडेलमा न त राजनीतिक आशावाद रहेको छ, न त उनले कुनै नेता तथा कार्यकर्ताको संरक्षण नै गर्न सक्छन् । उनले केवल आफ्ना लागि मात्रै केही गर्छन्, अरुका लागि केही पनि गर्न सक्दैनन् ।
हिन्दू राष्ट्रको नारामा काँग्रेसलाई दक्षिणपन्थको बोटामा हिडाउन लागिएको छ । त्यसमा महामन्त्री शशांकको बढी हात रहेको छ । उनी र विगतमा खुमबहादुर खड्काको नजिक रहेकाहरु हिन्दू राज्यको विषयमा अगाडि बढेका छन् । उनीहरु पहिले हिन्दु राज्यको कुरा गर्ने र अन्त्यमा राजतन्त्र समेत फिर्ता गराउने कमल थापा मार्गमा अगाडि बढेको राजनीतिक क्षेत्रका जानकारहरुको भनाइ छ ।



लाेकपाटी न्यूज

