जिरी, २० फागुन । दोलखामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको पेनस्टक पाइप जडानको कार्य अघि बढेको छ । आयोजनाको लट २ अन्तर्गतको तल्लो र माथिल्लो दुवै ठाडो सुरुङमा पेनस्टक पाइप जडान शुरु भएको हो ।
चार सय ५६ मेगावाट क्षमताको आयोजनाको लट २ को भारतीय कम्पनी टेक्सम्याको रेल एण्ड इञ्जिनीयरिङ लिमिटेडले गर्न नसकेपछि काम टुक्र्याएर अष्ट्रियाली कम्पनी एन्ड्रिज हाइड्रो जिएमबीलाई दिएको डेढ महीनामै पाइप जडानको काम शुरु भएको छ ।
आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले ३ सय १० मिटरको माथिल्लो ठाडो सुरुङसहित बाँकी काम टेक्सम्याको आफैले गर्ने सहमतिअनुसार उसले पनि पाइप जडानको काम शुरु गरेको जानकारी दिए । सम्झौता भएलगत्तै एन्ड्रिजले काम शुरु गरेको थियो । दुवै साफ्टको सम्पूर्ण तयारी पूरा गरेर सुरुङको माथिबाट तल पाइप झारेर जडान शुरु भएको उनले बताए ।
पेनस्टक पाइप ढुवानी र जडानकै कारण आयोजनाको उत्पादन मिति लम्बिरहँदा आयोजना व्यवस्थापन, नेपाल विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयको पहलमा भएको वार्तापछि उक्त काम एन्ड्रिजलाई दिने सम्झौता भएको थियो । गत पुसको तेस्रो साता एन्ड्रिलाई तल्लो पेनस्टक साफ्टको काम दिनेबारे त्रिपक्षीय सम्झौता भएको छ ।
सिभिललगायत अन्य काम अन्तिम चरणमा पुगेका बेला लट २ को ठेकेदार टेक्सम्याकोका कारण आयोजना ढिलाइ हुन पुगेको छ । टेक्सम्याकोले अहिले कबुल गरेको कामसमेत गर्न नसके ती पनि एन्ड्रिजलाई दिनसक्ने स्थिति रहेको डा. न्यौपानेले बताए ।
आयोजनाको हाइड्रोमेकानिकलअन्र्तगत टेक्सम्याकोले बाँध, इन्टेक र डिस्याण्डरमा गेटहरु, स्टपलगहरु, पेनस्टक पाइप आदिको डिजाइन, ढुवानी, जडान, परीक्षण र कमिसनिङको काम गर्नेछ । आयोजनामा एक हजार १३४ मिटर पेनस्टक पाइप जडान गर्नुपर्नेछ । पेनस्टक पाइप जडान नभएका कारण सिभिलतर्फको ठेकेदार सिनो हाइड्रोले गर्नुपर्ने कङ्क्रिटिङको कामसमेत रोकिएको छ ।
विसं २०७३ साउनदेखि उत्पादन शुरु गर्ने लक्ष्य राखेको आयोजनाले भूकम्पपछि संशोधित गरी २०७५ असारदेखि उत्पादन शुरु गर्ने लक्ष्य निर्धारण गरेको थियो तर लट २ कै कारण नौ महीना थप भयो । त्यो समयमा पनि पूरा नहुने भएपछि अहिले २०७६ कात्तिकसम्म परीक्षण उत्पादन गर्ने संशोधित कार्यतालिका बनाइएको छ ।
यस्तै आयोजनाबाट उत्पादन हुने बिजुली प्रसारण गर्न विद्युत्गृह गोङ्गरबाट खिम्तीसम्म २२० केभी क्षमताको प्रसारण लाइनको काम भइरहेको छ । चार लटमा आयोजनाको काम भइरहेको छ । जसअनुसार आयोजनाको सिभिल निर्माण चीनको सिनो हाइड्रो कर्पोरेशन, हाइड्रोमेकानिकल टेक्सम्याको रेल एण्ड इञ्जिनीयरिङ लिमिटेड, इलेक्ट्रोमेकानिकल अष्ट्रियाको एन्ड्रिज हाइड्रो जिएमबी र प्रसारणलाइन तथा सबस्टेशन निर्माण भारतको केइसी इन्टरनेशनल लिमिटेडले गरिरहेका छन् ।



लाेकपाटी न्यूज

