काठमाडौं, २० फागुन । सार्वजनिक तथा निजी विद्यालयहरुले अनिवार्य रूपमा नेपाली भाषामा आफ्नो नाम लेख्नुपर्ने भएको छ ।
काठमाडौं महानगरपालिका भित्रका सबै स्कुलको साइनबोर्डमा सर्वसाधारणले बुझ्ने गरी नेपालीमा नाम लेख्नु पर्ने भएको हो । आइतबार बसेको महानगरपालिका शिक्षा समितिकोे बैठकले नेपाली नाम राख्नुपर्ने निर्णय गरेको छ ।
महानगरपालिकाले निर्णय नमान्ने विद्यालयलाई कानुनअनुसार कारवाही गर्ने चेतावनी दिएको छ । संविधानको धारा ७ को उपदफा ९१० मा भएको देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने उल्लेख छ ।
महानगरपालिका शिक्षा समितिका प्रमुख उपसचिव सिताराम कोइरालाले संवैधानिक प्रावधान कार्यान्वयन गर्न यस्तो निर्णय गरिएकोे बताए । महानगरपालिका भित्र ६ सय ४० निजी र ९१ सरकारी विद्यालय सञ्चालनमा छन्। अधिकांश सरकारी स्कुलले नेपालीमै नाम लेखे पनि निजीले भने अंग्र्रेजीमा लेख्ने गरेका छन्।
साइनबोर्डसँगै विद्यार्थीको परिचयपत्रमा पनि नेपालीमै नाम लेख्नुपर्नेछ । बैठकले हरेक स्कुलमा विद्यालय सुरु हुनु पहिले राष्ट्रिय गान अनिवार्य गाउनुपर्ने निर्णय पनि गरेको छ ।


लाेकपाटी न्यूज

