बगैंचाजस्तै सिंगारियाे हेटौंडा सडक

Road
लाेकपाटी न्यूज

हेटौँडा, २० फागुन । हेटौंडा उपमहानगरले राष्ट्रिय मार्ग कान्तिलोकपथसहित ११ सडकमा फलफूल र विभिन्न जातका बिरुवा लगाएको छ । हरितनगरी हेटौँडाको पहिचानलाई थप प्रभावकारी बनाउन उपमहानगरले सो कदम चालेको हो ।

सडककोे बीचमा निर्माण गरिएका डिभाइडरमा सयपत्री, निलजाई, अशर्फीलगायत फूल तथा बिरुवा रोपिएका छन् । जसले सडकको मुहार नै बललिएको छ ।

निर्वाचित भएर आएलगत्तै उपमहानगरपालिकाका जनप्रतिनिधिले नगरको मुख्यबजार र त्यस आसपासका क्षेत्रका सडक फराकिलो बनाउने अभियान सञ्चालन गरेका थिए ।

यस्तै उनीहरुले फलफूल तथा बिरुवा रोप्ने अभियान पनि थालनी गरेका थिए । अहिले कान्तिराजपथ हेटौँडा सानोपोखरा खण्डदेखि मुख्य बजारसम्मको रोडबीच डिभाइडरमा फूल फुलेर सन्दर भएको देखिन्छ ।

हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सोही अभियानअन्तर्गत हेटौँडा बजार र आसपास क्षेत्रका ११ वटा मूल सडकमा फूल र फलफूलका बिरुवाहरु रोपिएको बताए । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल तत्कालीन मेयर र आफू उपमेयर हुँदा मुख्य सडकमा अशोकका रुख रोपिएको र थप निखार ल्याउन फूल रोपिएको महतको भनाइ छ ।

सडक व्यवस्थित भएसँगै अहिले हेटौँडाको मानसचोक हुँदै मकवानपुर क्याम्पस, सानोपोखरा कलभर्ड, पिप्लेचोक, स्कुलरोड भैरवचोक , पारिजात पथको तायल ब्रदरचोकका स्थानमा बिरुवा रोपिएको उपमहानगरपालिकाले जनाएको छ । मेयर महतका अनुसार, कबर्डहल, पिपलबोट, संगमचोक, कान्तिराजपथ चोकदेखि जोसी नर्सरी जाने चोक तथा देवीहल रोडको दुवैतर्फको सडक पेटी र मानव सेवा आश्रमको क्षेत्रमा २७ प्रजातिका बिरुवाहरु रोपिएका छन् ।

२ वर्षको अवधिमा ४ हजार २ सय ५६ जातका बिरुवा रोपिएको उपमहानगरपालिकाले बताएको छ । यस्तै महानगरले सबै वडामा फूल तथा बिरुवा रोप्ने तयारी गरेको बताएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्