काठमाडौं, २० पागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिक क्षमता वृद्धि गर्न सरकारले आवश्यक कदम पहल गर्ने बताएका छन् ।
सेना दिवसका अवसरमा सोमबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सेनाको व्यवसायिक क्षमता वृद्धिमा जोड दिएका हुन्।
प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको गहन जिम्मेवारी बहन गरिरहेको नेपाली सेनाले सरकारको महत्वपूर्ण अङ्गका रुपमा यो राष्ट्रिय लक्ष्य हासिल गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नेछ भन्नेमा म विश्वस्त छु ।’
सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्यका साथ अघि बढिरहेकाले सेनाले पनि त्यसै मर्मअनुसार काम गर्नुपर्नेमा उनले जोड दिए ।
‘नेपाल निर्माणसम्मको यात्रामा सेनाले निर्वाह गरेको भूमिका र पुर्याएको योगदान इतिहासको स्वर्णीम पानामा अङ्कित भइरहनेछ’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘यस अर्थमा सेना दिवस सम्पूर्ण नेपाली र राष्ट्रकै दिवस हो भन्ने मलाई लाग्दछ । सेना दिवसको यस सुखद् अवसरमा म नेपाली सेनाका सकल दर्जाको अतुलनीय राष्ट्रभक्ति, निष्ठा र कर्तव्यपरायणताको प्रशंसा गर्दछु ।’
प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा प्राकृतिक विपत्तिका बखत उच्च हौसला, जोश र सेवा भावका साथ उद्धार कार्यमा खटिने समस्त सैनिकप्रति धन्यवाद ज्ञापन समेत गरेका छन्।



लाेकपाटी न्यूज

