काठमाडौं, १९ फागुन । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले मुलुकभर झुन्डिएर रहेका विद्युतीय तारहरुलाई भूमिगत गराउने बताएका छन् । आकाशमा झुन्डिएका विद्युतीय तारहरुले देशकै सुन्दरता बिगारेको र विद्युत सर्ट भएर हुने आगलागिका घटनाहरु बढेकोले त्यसको न्यूनीकरणको लागि यस्तो योजना अगाडि सारेको उनले जनाएका छन् ।
लोडसेडिङको अत्याधिक समस्यालाई हटाएर नेपाली जनताकाबीच ख्याति कमाएका कुलमान घिसिङले फेरि अर्को योजनालाइ अगाडी बढाएका छन् । काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणाली सुधार गर्दै जमिनमाथि रहेका विद्युतीय तारलाई भूमिगत बनाउने र स्मार्ट मिटर जडान गर्ने अभियानलाई अगाडि बढाउने योजनामा रहेको उनले बताएका छन् ।
यो कार्य सम्पन्न गर्नको लागि सम्बन्धित र सरोकारवाला निकायसँग प्रक्रिया अगाडि बढिसकेको र सम्झौता भएलगत्तै यो अभियानलाई मुलकभर एउटा अभियानकै रुपमा लैजाने उनले बताएका छन् । मुख्यरुपमा जमिनमाथी रहेका तारलाई भूमिगत बनाउने र स्मार्ट मिटर जडानको अभियानलाई योजनावद्ध रुपमा मुलुकभर नै सञ्चालनको तयारी भईरहेको उनको भनाइ छ ।
उपत्यकाको वितरण प्रणालीले ४ सय मेगावाटको मात्र भार थेग्न सक्ने भएकाले त्यसको स्तरोन्नतीको विकल्प नभएको घिसिङले बताएका छन् । सो वितरण प्रणालीलाई २ हजार मेगावाट पु¥याएर उपत्यकामा व्यवस्थित रुपमा बिद्युत आपुर्ति गर्ने प्राधिकरणको योजना रहेको समेत उनले स्पष्ट पारेका छन् ।



लाेकपाटी न्यूज

