राजनीतिक नेताको आँखामा भरतमोहन

Bharat-Mohan-Adhikari-2
लाेकपाटी न्यूज

काठमाडौं, १९ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी उच्च विचार बोक्ने निष्ठावान् र जनताको भावना बुझ्ने सच्चा कम्युनिष्ट नेता भएको विभिन्न दलका नेताहरुले बताएका छन् ।

मनमोहन स्मृति प्रतिष्ठान र मनमोहन पोलिटेक्निकका अध्यक्ष तथा नेपाली कम्युनिष्ट आन्दोलनका अथक योद्धा अधिकारीलाई नेताले सादा जीवनका पक्षपोषक, चिन्तनशील, कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्छ भनेर निरन्तर लाग्ने राजकीय रुपमा पनि सम्मानलायक नेता भएको उल्लेख गरेका छन् ।

शनिबार राति ९ः३५ बजे काठमाडौंको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएका नेता अधिकारीलाई श्रद्धाञ्जली दिन नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा उपस्थित नेताले पुरानो र नयाँ पुस्तालाई जोड्ने सादा जीवन उच्च विचारका कम्युनिष्ट अगुवाका रुपमा उनलाई स्मरण गरेका छन् ।

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनको कोणबाट हेर्दा सबै मूल्य र मान्यताका आधारमा अघि बढ्ने सादा जीवनको पक्षपोषक अधिकारी जनतालाई विकासको प्रक्रियामा सहभागी गराउन जीवनभर चिन्तनशील भएको व्यक्तिको रुपमा सम्झिएका छन् । उनले भने, ‘उहाँकै देन हो ‘आफ्नो गाउँ आफैं बनाऔँ’ भन्ने अभियान, बजेट व्यवस्थापनदेखि वृद्धभत्ता दिने मात्रै होइन पछि मनमोहन स्मृति प्रतिष्ठानको अध्यक्ष भएर उहाँले वृद्धलाई देशदर्शन अभियानमा सरिक गराएर वृद्धको सम्मान गर्ने एक किसिमको संस्कार हुर्काउने काम गर्नुभयो ।’

विसं २०४४ पछि कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिक आन्दोलनमा संलग्न गराउने सन्दर्भमा नेपाल अधिराज्यको संविधान निर्माण गर्ने सन्दर्भमा र दुईवटै पार्टीलाई एकताबद्ध बनाउने कुरामा अधिकारीको अतुलनीय योगदान रहेको भन्दै नेता नेपालले भरतमोहन अधिकारी पुरानो र नयाँ पुस्ता जोड्ने, विचारको मामलामा प्रष्ट, जनताको बहुदलीय जनवादका मूल्य मान्यतालाई गहिरो रुपमा आत्मसात गर्ने, प्रजातान्त्रिक उदार विचारका पक्षपोषक तथा राजकीय जिम्मेवारीलाई योग्यता र कुशलताका साथ सम्हालेका नेता भएको उल्लेख गरे ।

श्रद्धाञ्जलिपछि संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख कृष्णबहादुर महराले पछिल्लोचोटी २०६८ सालमा सँगै उपप्रधानमन्त्री बनेको स्मरण गर्दै परिपक्क विचारवान नेता भएकाले उनको निधनले सच्च नेताको अभाव खड्किएको महसुस भएको बताए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेता अधिकारीलाई नेपाल कम्युनिष्ट आन्दोलनमा निरन्तर लाग्दै आएका नेताको रुपमा स्मरण गर्दै २००७ सालको परिवर्तनपछि राजनीतिक पार्टी निर्माणको प्रक्रियामा शुरुदेखि नै कम्युनिष्ट आन्दोलनमा लागेका पुरानो पुस्ताको एउटा अथक योद्धाका रुपमा सम्झना गर्नुभयो ।

उनकाअनुसार कम्युनिष्टको दोस्रो महाधिवेशनमा नेता अधिकारी प्रतिनिधि हुनुहुन्थ्यो । तृतीय महाधिवेशन हुँदा विसं २०१९ मा उनी केन्द्रीय कमिटीमा हुँदा कम्युनिष्ट विभाजन भयो । दाजु मनमोहनको पक्षमा रहेका शक्तिशाली नेता र कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने एउटा सपना बोकेका भरतमोहन साँच्चै निरङ्कुशता विरुद्धको आन्दोलनमा लगातार लागेको स्मरण गराए ।

पञ्चायतविरुद्धको आन्दोलनमा अधिकारीका कार्यक्रममा आफू पनि सहभागी हुने गरेको स्मरण गर्दै मन्त्री पोखरेलले उनकै अग्रसरतामा मदन भण्डारीसँग पनि भेटघाटको अवसर जुरेको स्मरण गरे । संयुक्त मोर्चाका पक्षधर, निरङ्कुशता विरोधी आन्दोलन २०४६ वरिपरिको वाममोर्चामा सहभागी नेता अधिकारी विसं २०४७ को संविधान निर्माण गर्न गठित आयोगको सदस्य रहेर महत्वपूर्ण भूमिका खेलेको समेत उनले बताए ।

नेपालको राजकीय पक्ष, सरकार र संसद्सँग सम्बन्धित कामको कोणबाट हेर्दा उनले चालेको कदम ‘आफ्नो गाउँ आफैं बनाऔं,’ र वृद्धभत्ताको कार्यक्रम अहिले पनि सम्झनलायक रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले राजनीतिकसँगै आर्थिक र सामाजिक पक्षमा पनि अधिकारीको योगदान अतुलनीय रहेको उल्लेख गरे । उनले भने, ‘पछिल्लो समयमा आफू शिक्षामन्त्री भएपछि विराटनगरमा पोलिटेक्निकल स्कुल चलाउने सन्दर्भमा उहाँको विशेष योगदान रह्यो, अविचलित ढङ्गले कम्युनिष्ट आन्दोलनमा निरन्तर लाग्ने धरोहर हुनुहुन्थ्यो, जसको योगदान नयाँ पुस्ताले सिक्न लायक छन् ।’

प्रतिकुलतामा विचलित हुने अहिलेको अवस्थामा अधिकारीबाट नयाँपुस्ताले सिक्नुपर्ने बताउँदै मन्त्री पोखरेलले अहिलेको वृहत कम्युनिष्ट आन्दोलन निर्माण हुनुमा उनीजस्ता अग्रजले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्