काठमाडौं, १९ फागुन । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको निधनले आफूलाई दुःखित तुल्याएको बताएका छन् ।
सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत पुराना नेता श्रद्धेय अधिकारीको बिदाइसँगै मुलुकले एक असल र अनुभवी राजनीतिज्ञ गुमाएको र आफूले व्यक्तिगत रुपमा एक सहृदयी मित्र गुमाएको बताए ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘पञ्चायतको अन्त्य र प्रजातन्त्र स्थापनाका लागि अनवरत सङ्घर्षमा उहाँको भूमिकासँगै यो क्षण म राजनीतिक सहकार्यको संस्कृति निर्माणमा उहाँले पुर्याउनु भएको योगदान स्मरण गरिरहेको छु ।’
सभापति देउवाले नेता अधिकारीको निधनप्रति व्यक्तिगत एवं पार्टीका तर्फबाट गहिरो शोक व्यक्त गर्दै नेकपा पार्टी र अधिकारीको परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता अधिकारीको उपचारका क्रममा शनिबार राति काठमाडौं मा निधन भएको थियो ।



लाेकपाटी न्यूज

