४८ मिनेट शिर निहुराएर होचि मिन्हलाई किम जोङको सम्मान

Kim jone-hochi minha
लाेकपाटी न्यूज

हनोइ, १८ फागुन। भियतनामका क्रान्तिकारी नेता होचि मिन्हप्रति उत्तर कोरियाली नेता किम जोङ उनले सम्मान व्यक्त गरेका छन्। हाल भियतनाममा रहेका उनले भियतनामका स्वतन्त्रतावादी तथा क्रान्तिकारी नेता मिन्हप्रति शनिबार श्रद्धाञ्जलि व्यक्त गरेका समाचारमा जनाइएको छ।

भियतनामको दोङदाङ सीमा क्षेत्रमा रहेको मिन्हको समाधिस्थलमा पुगी उनले शनिबार हार्दिक श्रद्धा व्यक्त गरेका जनाइएको छ। नेता किम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो चरणको वार्ताका लागि भियतनाम पुगेका थिए। उनीहरुबीच यसै हप्ता द्धिपक्षीय वार्ता भएको थियो।

वार्ता सकिएर शनिबार स्वदेश फर्किन लागेका नेता किमले शनिबार बिहान उक्त सीमा क्षेत्रीय गाउँमा पुगी मिन्हप्रति श्रद्धाञ्जलि व्यक्त गरेको समाचारमा जनाइएको छ। मिन्हलाई भियतनाममा स्वतन्त्रता सेनानीका रुपमा सम्मान गरिन्छ। उनको शालिक राखिएको स्थानमा सम्मान व्यक्त गर्न उत्तर कोरियाली नेता किम पुग्दा विशेष सुरक्षा व्यवस्था अपनाइएको बताइएको छ।

उत्तर कोरियाली नेता किम आज शनिबारै उत्तर कोरिया प्रस्थान गर्दैछन्। उनी रेल चढेरै स्वदेश फर्किने तयारीमा रहेको बताइएको छ। भियतनामबाटै चीनको राजधानी बेइजिङ हुँदै स्वदेश फर्किन लागेका नेता किमले रेलमार्गबाटै करिब चार हजार किलोमिटर वार्ता गर्दै हुनुहुन्छ। उनलाई उत्तर कोरिया पुग्न साढे दुई दिन लाग्ने अनुमान गरिएको छ।

सम्मानस्वरुप रातो रिबनबाट बनाइएको विशेष प्रकारको बुट्टा भरिएको वस्तु र विभिन्न रंगका फूलहरु चढाएर उनले श्रद्धाञ्जलि अर्पण गरेका थिए। उनले करिब ४८ मिनेटजति शिर निहुराएर मिन्हप्रति सम्मान प्रकट गरेका थिए। त्यस अवसरमा भियतनामको सेनाले विशेष सम्मान पनि अर्पण गरेको थियो।

मिन्ह उत्तर कोरियाली नेता किमका हजुर बुबा किम इल सुङका नजिकको साथी मानिन्छन् । युद्धको समयमा उत्तर कोरियाली नेता किम इल सुङले भियतनामलाई हतियार लगायतको सहयोग गरेको पनि इतिहास छ ।

उनका बुबा किम जोङ इलले पनि भियतनामका नेता मिन्हलाई सम्मान गर्ने गर्थे। सोही कारण पनि नेता किमले आज उनीप्रति विशेष सम्मान अर्पण गरेको उत्तर कोरियाली समाचार समिति के.सि.एन.ए.ले जानकारी दिएको छ। उत्तर कोरियाली नेताका रुपमा किमको भियतनाम भ्रमण सन् १९६४ पछि यो पहिलो हो।

सन् १९६४ मा नेता किमका हजुरबुबा किम इल सुङले भियतनामको भ्रमण गरेका थिए। त्यस समयमा उत्तर कोरियाका नेताका रुपमा रहेका किम इल सुङले भियतनामको भ्रमण गर्दा उनी पनि रेलबाट नै यात्रा गरेका थिए। उनी पनि त्यतिबेला उत्तर कोरियाबाट नै रेलमा गएका थिए।