नातीको अन्त्येष्टिमा जान अनुमति

ब्राजिल
लाेकपाटी न्यूज

रियो दि जेनेरियो, १८ फागुन । काराबासमा रहनु भएका ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भालाई आफ्नो नातीको अन्त्येष्टिमा सहभागी हुन अनुमति दिइएको छ।

उनको सात वर्षे नाती अर्थर अराउजो जुला दा सिल्भाको शुक्रबार विहान निधन भएपछि अदालतले शुक्रबार नै उनलाई अन्त्येष्टिमा सहभागिताका लागि अनुमति दिएको हो। अदालतले अनुमति दिएपछि शनिबार हुने अन्त्येष्टि कार्यक्रममा उनको सहभागिता रहने अधिकारीहरुले जनाएका छन्।

अन्त्येष्टिमा सहभागी हुन उनी साओ पाउलोमा जाने कार्यक्रम रहेको छ। सो ठाउँ लुला परिवारको बाक्लो बस्ती भएको ठाउँ मानिन्छ। कडा सुरक्षा व्यवस्थासहित उनी विमानबाट कार्यक्रमस्थलमा पुग्ने कार्यक्रममा सहभागी हुने भएको छ।

ब्राजिलको कानुनमा काराबासमा रहेका व्यक्तिलाई बुवा आमा, सहोदर भाइबहिनी, छोराछोरी वा नाती नातिना जस्ता निकटस्थको अन्त्येष्टि समारोहमा छोटो अवधिका लागि सहभागी हुन अनुमति दिन सक्ने व्यवस्था रहेको छ।

ब्राजिलमा सैनिक शासन रहेका बेला जवरजस्ती काराबासमा राखिएका लुलालाई त्यतिबेला पनि आफ्नी आमाको अन्त्यष्टीमा सहभागी हुन दिइएको थियो।