बलेवा, १८ फागुन । ४५ वर्षीय लक्ष्मण विकको मृत्यु भएको दुई दिनसम्म पनि शव उठाइएको छैन । बागलुङको निसिखोला गाउँपालिका–७ राजकुत मुदुङका विकको धौलागिरि अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
धेरै टाढाबाट उपचारको क्रममा अञ्चल अस्पतालमा श्रीमतीसहित आउनुभएका विकको मृत्यु पछि आर्थिक अभावका कारण अन्तिम संस्कारका लागि लैजान समस्या भएको परिवारले जनाएको छ ।
छरछिमेकीसँग ऋण गरी उपचारका लागि १४ फागुनमा उक्त अस्पताल आउनुभएका विक परिवारसँग भएको पैसा पनि उपचारको क्रममा सकिएकाले अहिले शव उठाएर घाटसम्म लैजान समस्या भएको मृतकका दाजु बलबहादुर विकले बताए ।
‘कसैले सहयोग गरे त भाइको शव आफ्नै घाटमा लैजाने मन थियो’ मृतका दाजु बलहादुर विकले भने, ‘नजिकै कालीगण्डकीमा लैजाने तथा दाउरा, चिनी र कोरा कपडा किन्न समेत पैसा छैन ।’
भाइको मृत्यु खबर पाएलगत्तै गाडीभाडासमेत ऋण खोजेर बागलुङ बजार आएका विकले सबैसँग सहयोगका लागि अपिल गरेका छन् । ‘भाइको मृत शरीरले समेत सुःख पाएन,’ विकले थपे, ‘घाटमा पुर्याउन र काजकिरिया सक्न पनि ठूलो सकस भयो ।’
परम्परा अनुसार १३ दिन काजकिरिया गर्ने संस्कार रहे पनि आर्थिक अभावका कारण तीन दिनमै छोट्याउने तयारी गरिएको दाजु बलबहादुरले बताए ।
छिमेकीको शव उठाउन समस्या भएपछि स्थानीयवासीले सहयोग सङ्कलन गरी तत्कालको समस्या समाधान गर्ने तयारी गरेका छन् ।
पीडित परिवारसँग पैसा नभएकाले स्थानीय सङ्घसंस्था र व्यक्तिसँग सहयोगका लागि अपिल गरेर शवलाई कालीगण्डकीसम्म लैजाने कोसिस भइरहेको छ ।



लाेकपाटी न्यूज

