काठमाडौं, १८ फागुन । हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको मृत्यु संस्कार १३ दिन नै गर्न आग्रह गरिएको छ ।
नेपाल सनातन धर्म संस्कृति संगठनले उनका परिवारलाई मृत्यु संस्कार १३ दिन नै गर्न अनुरोध गरेको हो ।
मन्त्री अधिकारीको मृत्यु संस्कार सात दिनमा सक्ने तयारी परिवारको छ । ताप्लेजुङको सिस्नेभीरमा गएको बुधबार हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित सातजनाको निधन भएको थियो । मन्त्री अधिकारीको शुक्रबार पोखरामा अन्तिम संस्कार भयो ।
नेपाल सनातन धर्म संस्कृति संगठनले हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीसहित सातैजना प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
‘यस दुःखद घडीमा सञ्चारमाध्यममा मन्त्री अधिकारीको काजकिरियाको प्रक्रिया ७ दिन मै सकिने भनि पारिवारिक स्रोतलाई उद्धृत गर्दै आएको समाचारप्रति यस संगठनको ध्यानाकर्षण भएको छ ।
हिन्दु धर्म अनुसार मृत्यु संस्कार गर्दा हिन्दु धर्मकै विधि विधानको पूर्ण रुपले पालना गर्नुपर्ने हुन्छ । तर मन्त्री जस्तो विशिष्ट व्यक्तिको मृत्यु संस्कार धार्मिक विधि विधान विपरित गरिनु उहाँले पाउनु भएको राजकीय सम्मान विपरित र उहाँप्रति अन्याय समेत हो । यसरी धार्मिक विधि अनुसार नगरिएको मृत्यु संस्कारले आत्मालाई मुक्ति नगराउने, साथै प्रेत आत्मा पितृ पनि बन्न नसक्ने विधान छ ।
त्यसैले १३ दिन घटाएर क्रिया गर्नु र नगर्नु एकै हो । यस्तो कर्मले नेपाली समाजमा गलत संदेश जाने र दिर्घकालिन रुपमा पर्ने सामाजिक र सांस्कृतिक असर समेतलाई दृष्टिगत गर्दै यस संगठन गल्ति हुन नदिई मृत्यु संस्कार १३ दिन नै गर्न परिवार जनलाई आग्रह गर्दछ । साथै मृत्यु संस्कार गराउनु हुने पण्डित वा पुरोहित ज्युमा समेत यस्तो गलत एवं अशास्त्रीय कार्य नगर्नु हुन सचेत समेत गर्दछौँ, ’ संगठनले जारी गरेको वक्तव्यमा भनिएको छ ।



लाेकपाटी न्यूज

