काठमाडौं, १८ फागुन । अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि २०७५ अनुमोदन गरिएको छ ।
काठमाडौं महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्रको सहज वितरणका लागि उक्त कार्यविधि अनुमोदन गरेको हो । महानगरपालिकाको ३० औं कार्यपालिका बैठकले उक्त कार्यविधि अनुमोदन गरेको छ ।
कार्यविधिमा अपाङ्गता भएको व्यक्ति स्वयं वा अभिभावक तथा संरक्षकमध्ये कसैले अपाङ्गता पुष्टि हुने कागजातसहित सम्बन्धित वडामा निवेदन दिएपछि वडाले सामाजिक विकास विभागमा सिफारिस गर्ने र विभागले परिचय उपलब्ध गराउने व्यवस्था छ ।
महानगरपालिकाका अनुसार चित्त नबुझे महानगरका उपप्रमुखको संयोजकत्वमा गठित समन्वयन समितिमा निवेदन दिन सकिने छ । अपाङ्गतासम्बन्धी प्रमाणपत्र लिन स्थायी ठेगाना भएको ठाउँमा जान नसक्ने व्यक्तिको हकमा त्यसअघि नलिएको एकिन गरी लिनसक्ने व्यवस्था छ । यो परिचयपत्र सामान्य अपांगता भएका व्यक्ति आफैले लिनुपर्नेछ ।
महानगरपालिकाको आउँदो नगरसभामा सार्वजनिक निजी साझेदारी, सार्वजनिक यातायात र सहरी योजना आयोगसम्बन्धी विधेयक प्रस्तुत गर्ने पनि बैठकले निर्णय गरेको छ ।
सहरी व्यवस्थापनलाई जनअपेक्षाअनुसार बनाउन यससम्बन्धी आवश्यक कानुनी व्यवस्था बनाइएको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।
यस्तै बैठकले रानीपोखरी पुनः निर्माणका लागि मेयर विद्यासुन्दर शाक्यले प्रस्तुत गरेको उपभोक्ता समितिमा रहने सदस्यको नामावली पनि अनुमोदन गरेको उनले बताए । बैठकले अजयरत्न स्थापितको संयोजकमा पाँच सदस्यीय समिति गठन गरेको छ ।
समितिको सचिवमा रोशनकाजी तुलाधर, कोषाध्यक्षमा होमप्रसाद खड्गी तथा सदस्यमा दीपकराज तुलाधर र दीपेन्द्र खड्गी छन्।
त्यस्तै बैठकले रानीपोखरी पुनः निर्माणको अनुगमन तथा समन्वय समिति पनि गठन गरेको छ। समितिमा वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठ, वडा २७ का अध्यक्ष चिनियाँमान बज्राचार्य र वडा नं २८ का अध्यक्ष भाइराम खड्गी छन्।



लाेकपाटी न्यूज

