नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्वगृहमन्त्री बामदेव गौतमले आफू रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट चुनाव लड्दैछ भनी गरिएको प्रचार झुटो भएको बताएका छन्।
शनिबार बिहान आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै नेता गौतमले आफू कास्कीबाट चुनाव नलड्ने स्पष्ट पारेका हुन्। उनले रवीन्द्र अधिकारीको श्रद्धाञ्जली दिन पोखरा गएको विषयलाई उम्मेदवारीसँग जोडेकोमा रोष प्रकट गरेका छन्।
गत प्रतिनिधि सभा निर्वाचनमा बर्दियाबाट पराजित गौतमले संसदमा आउन विभिन्न जिल्लाको सर्भे गरेका थिए। उनले रुकुम, डोल्पा लगायतका जिल्लाबाट उम्मेदवार हुन गरेको प्रयास पार्टीभित्रै विवादका कारण असफल भएको थियो। गत बुधबार हेलिकोप्टर दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की क्षेत्र नं.–२ मा उपनिर्वाचन हुने भएको छ।
उक्त उपनिर्वाचनसँग जोडेर गौतमका विरुद्ध प्रचार गरिएको हो। यद्यपि, नेताहरुले अनौपचारिक छलफलमा कास्की–२ बाट अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवारीको तयारी गर्न भनेको समाचार सार्वजनिक भइरहेका छन्।
कास्की–२ बाट निर्वाचन लड्ने आफ्नो कुरा सोच नभएको गौतमले स्पष्ट पारेका छन्। उनले रवीन्द्रको खाली भएको निर्वाचन क्षेत्रमा परिवारकै सदस्यलाई चुनाव लडाउन आफूले प्रयास गर्नेसमेत लेखेका छन्। यस्तो छ गौतमको स्पष्टिकरण।
‘फेरि कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेराविरुद्ध शुरु भयो। नेपाली राजनितिक आकासमा उज्वल भविष्यसहित उदाएका मेरा प्रिय कमरेड रवीन्द्र अधिकारीको असामयिक निधनबाट ठूलो धक्का महसुस गर्दै श्रद्धाञ्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रवीन्द्रको निर्वाचन क्षेत्रवाट उम्मेदवार बन्ने आशा राखेको आरोप लगाइएको छ।
यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरु गरिएको कुप्रचार मात्र हो। मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दिइनँ, जीवनभर दिने पनि छैन। मेरो इच्छाविपरित पार्टीले निर्णय गरेछ भने पनि म क. रवीन्द्रको दुखद निधनबाट खाली भएको निर्वाचन क्षेत्रमा उमेदवार बन्ने छैन। मेरो सम्पूर्ण प्रयत्न स्व.क. रवीन्द्रको परिवार सदस्यलाई नै उम्मेदवार बनाउन लगाउने छु।’



लाेकपाटी न्यूज

